एमालेका जिल्ला अधिवेशन ः चुनौति र अपेक्षा


हिजोका बैठकहरुमा नेतृत्वको दानवीकरण गर्ने प्रयासहरु हुन्थे । आज देवत्वकरण गर्ने अभ्यास हुन थालेका देखिन्छन । यि दुबै प्रबृत्तिले पार्टी पंत्तिको सैद्धान्तिक स्तर खस्किने गर्दछ ।

मातृका तिमिल्सेना
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना मन्तब्य दिदै नेकपा एमालेका महासचिव क. शंकर पोख्रेलले ‘ नेपाली राजनैतिक दलहरुले अब देश निर्माणको नेतृत्व लिन सक्नु पर्ने’ बताउनु भएको थियो । पोख्रेलले काँग्रेसका तत्कालिन सभापति नेता गिरिजा प्रसाद कोइरालाले देशमा २ वटा क्रान्तिको नेतृत्व एकै पुस्ताबाट भएको भनी दिइने अभिव्यक्तिको समेत स्मरण गर्दै ३ वटा क्रान्तिको नेतृत्व एकै पुस्ताले गरेको भएपनि देश निर्माणको नेतृत्व गर्न नसकिएको प्रसंग उठाउनु भएको थियो ।
एमाले महासचिवले यो प्रसंग उठाएको करिब २ साता पछि नै एमालेले देशै भरीका सबै जिल्लामा एकै दिन जिल्ला अधिवेशन शुरु गरेको छ । पार्टीका जिल्ला अधिवेशनहरु सुरु भैसकेका छन । कुनै न कुनै बिधिबाट नेतृत्व त आउने नै छ । तर सवाल एमालेले जिल्लामा नयाँ नेतृत्व पाउकि पाउदैन भन्ने मात्रै होइन, नेतृत्व त हिजो पनि थियो । सवाल भनेको अहिलेका राष्ट्रिय समस्याहरु समाधान गर्न सक्ने गरी एमालेले आफुलाई उभ्याउन सक्छ कि सक्दैन र पार्टीका सामु रहेका अहिलेका गम्भीर चुनौतिहरुसँग मुकाबिला गर्न सक्ने सक्षम नेतृत्व ल्याउन सक्छ कि सक्दैन भन्ने हो ।
एमाले अहिले विभाजित अवस्थामा छ । हिजो एमालेकै नेतृत्वमा रहेका नेताहरु अहिले फरक पार्टी बनाउन मैदानमा छन । यो एमालेका लागि अहिलेको सबै भन्दा ठूलो चुनौति हो । २०५४ सालमा पनि एमाले यसरी नै विभाजित बनेको थियो । यद्धपि २०५४ सालमा एमाले जुन आकारमा विभाजन हुन पुगेको थियो आजको बिभाजन त्यति ठूलो होइन । तर चुनौति २०५४ का भन्दा ठूला देखिदैछन । अहिले जिल्ला अधिवेशनबाट आउने नेतृत्व पार्टीका सामु रहेका ति सबै चुनौतिलाई मुुकाबिला गर्न सक्ने क्षमता राख्न सक्छ कि सक्दैन भन्ने अर्को सवाल हो । सैद्धान्तिक र व्यवहारिकरुपमा सवल र अध्यानििसल नेतृत्व यि अधिबेशनले दिन सक्नु पर्छ ।
आज एमाले बिरुद्ध बाँकी सबै दलहरु मोर्चाबन्दीमा छन, अरु सबै पार्टीको मोर्चा बनेर एमाले बिरुद्ध चुनावमा जाने अवस्था २०५४ मा थिएन । आज पनि नहोला तर एमालेका विपक्षमा बनेको गठबन्धनले त्यो प्रयास गरिरहेको छ । त्यहि मोर्चा बन्दीका कारण पार्टी संघिय सरकार र सबै प्रदेश सरकारबाट बाहिरिनु परेको छ । अबको एक वर्ष भित्र देशमा तिनै तहका आबाधिक निर्वाचनहरु हुने छन । ति निर्वाचनहरुमा बिपक्षीहरुको मोर्चाबन्दी र आफु भित्रको बिभाजनलाई पार्टी पंत्तिले सँगै सामना गर्नु पर्ने छ । यि दुबै चुनौतिहरु सजिला छैनन । यसका लागि पनि अबको एमाले नेतृत्व सबल र सक्षम हुनु आवश्यक छ ।
पार्टी बिभाजन पछि एमालेका कमिटीहरुमा त्यति धेरै बहस भएको पाइदैन । पार्टीमा रहेका समस्याहरुलाई छलफल गर्नेकाम पार्टीका बैठकहरुमा हुनु पर्दछ तर त्यसो हुनुको साँटो छल हुदै नहुने र भएमा पनि पुर्वाग्रही छलफल मात्रै हुने समस्या बढेको छ । पार्टी बिभाजन पूर्व गुटगतरुपमा नेतृत्वको बिरुद्ध बोल्ने र पक्षमा बोल्नेहरुका बिचको समस्या देखिन्थ्यो । हिजोका बैठकहरुमा नेतृत्वको दानवी करण गर्ने प्रयासहरु हुन्थे । आज देवत्वकरण गर्ने अभ्यास हुन थालेका देखिन्छन । यि दुबै प्रबृत्तिले पार्टी पंत्तिको सैद्धान्तिक स्तर खस्किने गर्दछ । पार्टीका बैठकहरु व्यवस्थितरुपमा सञ्चालन हुनुको साँटो नेतृत्वले निर्णय सुनाउने स्थलमा परिणत हुनु, बैठकमा परिस्थितीको ठिक विश्लेषण गर्नुको साँटो नेतृत्व रिझाउनका रिपोटिङका सामाग्रिहरु प्रस्तुत गरिनु , सबै तथ्याँकहरु व्यवस्थित भएको एमाले पार्टीका आन्तरिक तथ्याँकहरु अव्यवस्थित मात्र होइन अस्तब्यस्त हुनु, पार्टी नेतृत्व अध्यानसिल नहुनु, नेताको जिवन शैली बुर्जुवा हुनु अहिलेका समस्या हुन । पार्टी नेतृत्वमा नै साँस्कृतिक बिचलन आउने तर पार्टी नेतृत्वले त्यसलाई सुधार्नुको साँटो जोगाउदै लैजाने प्रबृत्तिले कार्यकर्ता पंत्ति समेत भ्रष्टीकरणको बाटोमा जाने खतरा पनि छ । यि समस्याहरु समाधान गर्ने गरी एमालेले जिल्ला तहको नेतृत्व छान्न सक्छ कि सक्दैन ? यसले नै एमालेको भविष्य निर्धारण गर्ने छ ।।
देशैभरीका पार्टीका जिल्ला अधिवेशनहरुलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले सहमतिका साथ नेतृत्व छनोट गर्न निर्देशन दिनुभएको छ । बितेको एक दशक भन्दा बढीको समय एमालेले आफु भित्र अन्तरपार्टी लोकतन्त्रको राम्रै अभ्यास गर्यो । बिगतको समिक्षा गर्दा यसले एमालेका लागि राम्रै पनि गरेको देखिन्छ । तर दशौ महाधिबेशन अघि भएका स्थानिय तहाका अधिवेशनहरुमा कतै उच्च स्तरको सहमतिमा नेतृत्व टुँगिएको छ भने कतै लोकतान्त्रिक बिधिको समेत प्रयोग भएको देखिन्छ । तर केही ठाँउमा सर्वसम्मत चयन भएको नेतृत्वलाई समेत जनवादी केन्द्रियताका नाममा हटाउने काम समेत भयो र नेतृत्वको अनुकुलको कमिटी घोषणा भएको देखियो । यसलाई सहमति भन्न सकिदैन । यस्ता गतिबिधिले पार्टीलाई फाइदा पुग्दैन । सहमतिका नाममा अन्तरपार्टी लोकतन्त्र खुम्चाउने कामले पार्टी भित्र अन्यायको आभास हुन्छ र अन्तरबिरोध दिगोरुपमा अगाडी बढ्छ । यस पटकका जिल्ला अधिवेशनमा एमालेले आफ्ना सामु रहेका यि चुनौतिलाई सामना गर्नसक्ने सक्षम नेतृत्व ल्याउनै पर्छ । सक्षम र क्षमतावान नेतृत्वले मात्रै भोलीको सबल र सक्षम एमाले निर्माण गर्न सक्छ ।
(लेखक नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुनुहुन्छ)

Khaptadkhabar the love