
हामी कैलालीको पूर्वि क्षेत्र, बिगतमा सुदुरपश्चिम सरकारबाट उपेक्षित भएको क्षेत्र, संघियताको आन्दोलनमा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउनका निम्ती सबै भन्दा बढी क्षेति ब्यहोरेको क्षेत्र, अथाहा सम्भावना बोकेको तर राज्यबाट उपेक्षित भएको क्षेत्रलाई यस पटक तपाईको नेतृत्वमा सरकार भएका बेला मुहार बदल्ने योजना र निति चाहान्छौं ।
माननिय मूख्यमन्त्री कमल शाह ज्यू
हिजो मात्र तपाईको नेतृत्वमा रहेको सरकारले आफ्नो आगामी वर्षको निति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । निति तथा कार्यक्रम पछि निर्धारित समयमा बजेट समेत आउने छ । यो नियमित प्रकृया हो । तर तपाई मुख्य मन्त्री बनिरहदा यहाँको गृहक्षेत्र र नगरका केही अपेक्षाहरु थिए । निति तथा कार्यक्रममा ति अपेक्षाहरु नसमेटिएको देखेर यो खुल्ला ध्यानाकर्षण पत्र लेख्ने प्रयास गर्दैछुँ । आशा छ , आगामी असार १ गते प्रदेश सरकारले पेश गर्ने बजेटमा ति कार्यक्रमहरु समेटिने छन ।
माननिय मूख्यमन्त्रीज्यू
तपाई निर्बाचित भएको क्षेत्र (लम्की टीकापुर) संविधान जारी भैरहदा संघियताका नाममा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउनका लागि धेरै कुरा गुमाएको क्षेत्र हो । सुदुरपश्चिम प्रदेशमा रहने र नरहने दुई बिपरित माग लिएर भएको आन्दोलनमा यसै क्षेत्रका १ दुधे बालक सहित ८ सुरक्षाकर्मीले ज्याउन गुमाएको कुरा यहाँलाई स्मरण गराईरहनु पर्दैन । सोही बिबादले उग्ररुप लिएपछि टीकापुर क्षेत्रमामा थारु समुदाय र अन्य समुदायका दर्जनौं घरहरुमा आगजनी गरिएको पिडा समेत त्यहि आन्दोलनका कारण यो क्षेत्रले ब्यहोर्नु पर्यो । आन्दोलनबाट भएको क्षति मात्र होइन आन्दोलनमा भएका कानुन बिपरितका घटनाक्रमहरुका कारण यहि क्षेत्रका दर्जनौं मान्छेले कारागार जिवन व्यतित गर्नु पर्यो । त्यस मध्य केही जेलमुक्त भएपनि केही अहिले समेत कारगारमा नै छन । सुदुरपशिचम प्रदेश बनाउनका लागि अहिलेको भूगोल बनाउन यो क्षेत्रले आफुलाई कलंकको टीका अहिले समेत लगाइरहनु परेको छ । संघियताको आन्दोलनमा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउन यो क्षेत्रले जति गुमाउनु पर्यो अहिले सम्म सुदुरपश्चिम प्रदेश भित्र रहेका कुनै क्षेत्र वा भूभागले त्यति गुमाउनु परेन । यसको सट्टा टीकापुर क्षेत्रले के पायो ?
हिजोका दिनमा माग सुनुवाई गरिदिनेगरि सरकारमा कोही भएन भनेर गुनासो गरिन्थ्यो । बिगतको सरकारमा समेत यहाँकै पार्टीबाट कानुनमन्त्री टीकापुर क्षेत्रबाट पायो । आज तपाईकै नेतृत्वमा सुदुरपश्चिमको सरकार बनेको छ । हामी यो क्षेत्रवासीका पनि प्रदेश सरकारसँगका केही अपेक्षाहरु छन । हामी तपाईको कार्यकालमा ति मध्ये केही महत्वपूर्ण अपेक्षाहरु पुरा होउन भन्नेहामी चाहान्छौं ।
माननिय मूख्यमन्त्री ज्यू
टीकापुर क्षेत्रमा एक जिल्ला स्तरको अस्पताल छ । यो अस्पताल यहाकै नेतृत्वमा रहेको प्रदेश सरकारको मातहतमा रहने प्रादेशिक अस्पताल हो । टीकापुर अस्पतालमा अहिले दैनिक ५ सय देखि ७ सय जना बिरामीहरुले प्रतिदिन सेवा लिईरहेको तथ्याँक देखिन्छ । यति धेरै सेवाग्राही हुने सायद यो सेति अञ्चल अस्पताल भन्दा पछि सुदुरपश्चिममा दोस्रो अस्पताल हो । विषशेज्ञ सेवा लिनका लागि टीकापुर क्षेत्रवासीहरु नेपालगञ्ज वा धनगढी दुबै तिरका अस्पतालमा जान १०० किलो मिटरको दुरी पार गर्नु पर्ने हुन्छ । टीकापुर अस्पतालमा यति धेरै बिरामीको भिड हुदा पनि यसले ५१ शैयाको अनुमति मात्र प्राप्त गरेको देखिन्छ । अझै भन्दा ५१ शैया अनुसार पनि दरबन्दी देखिदैन । बजार क्षेत्र भित्रै १३ बिगाहा जमिन रहेको टीकापुर अस्पताल आफैमा मेडिकल कलेज सञ्चालन हुनसक्ने सम्भावना बोकेकोछ । कोहलपुरमा १० बिगाहामा मेडिकल कलेज सञ्चालन छ । कैलालीको पूर्वि क्षेत्र , बर्दियाको र सुर्खेतको पश्चिमी क्षेत्रका लाखौं जनताका लागि स्वास्थ्य उपचारको एउटा नजिकको केन्द्र हो टीकापुर अस्पताल । तर हिजोको प्रदेश सरकारको निति तथा कार्यक्रममा विगतको सरकारले लिएका केही नितिकोे निरन्तरता बाहेक टीकापुर अस्पतालका बारेमा कुनै योजना देखिदैन । हामी टीकापुर अस्पताललाई मेडिकल कलेज सम्म विकास गर्न चाहान्छौं । यसलाई तत्काल १०० शैयाको अस्पतालमा स्तरबृद्धि गर्दै दरबन्दी थपेर सेवा सुधार र बृद्धि गर्न चाहान्छौं । यस पटक यो सबै विषय बुझेको यस क्षेत्रकै मुख्यमन्त्री भएका बेला यो कुराको अपेक्षा गर्नु शायद अन्यथा होइन होला ।
माननिय मूख्यमन्त्री ज्यू
टीकापुर क्षेत्र शैक्षिक हवका रुपमा विकास गर्ने यहाँका वासिन्दाहरुको पुरानो चाहाना हो । यसैका लागि यहाँ टीकापुर बहुमुखी क्याम्पसलाई ३८० बिगाहा जमिन दिइएको हो । हाल सुदुरपश्चिम विश्व विद्यालयको आँगिक क्याम्पस बनेको टीकापुर बहुमुखी क्याम्पसमा विश्व विद्यालयको कृषि डिनको कार्यालय समेत छ । टीकापुरलाई आईटिसिटी बनाउन र कृषि विश्व विद्यालय बनाउन २०४६ सालको परिवर्तन पश्चात यस क्षेत्रको नेतृत्व लागेको कुरा यहाँ जत्तिको पुरानो नेतालाई जानकारी छैन भनेर कल्पना समेत गर्न सकिदैन । आज महेन्द्र नगरले सुप विश्वविद्यालय पायो, गेटाले स्वास्थ्य विश्व विद्यालय पाउन थालेको छ । डडेल्धुराले मेडिकल कलेज पाएको छ । संघियताको आन्दोलनमा सबै भन्दा बढी प्रशव पिडा भोगेको टीकापुरले शिक्षाका क्षेत्रमा के पाउने ? विगतको प्रदेश सरकारले स्थापना गर्ने भनेको प्रादेशिक विश्व विद्यालय वा प्राबिधिक विश्व विद्यालय मध्य एउटाको मुख्य हकदार टीकापुर हो । हामी यो दाबी स्थापित गर्न चाहान्छौं । किन कि हामीसँग यसका लागि आवश्यक पुर्वाधार छ । टीकापुर बहुमुखी क्याम्पसको ३८० बिगाहा जमिन, विरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक संस्थासँग रहेको ७५ बिगाह जमिन यसका पूर्वाधार हुन । सुदुरपश्चिम भरी शैक्षिक संस्थाहरुसँग यति धेरै जमिन कहाँ छ ? हाम्रा अग्रजहरुले हामीलाई टीकापुरमा विश्वविद्यालय बनाउन भनेर दिएको त्यो युगिन दायित्व तपाईको पनि होइन र ? त्यसो हो भने यहाँले ल्याउने बजेटमा प्रदेश सरकारले स्थापना गर्ने प्रादेशिक विश्वविद्यालय वा प्राबिधिक विश्व विद्यालय मध्ये एउटा टीकापुरमा स्थापना गर्ने नितिगत निर्णय सहितको बजेटको अपेक्षा यो क्षेत्रले गरेको छ ।
माननिय मूख्यमन्त्री ज्यू
तपाईको नेतृत्वमा प्रदेश सरकार बनेका बेला बाटो निर्माण, पुल निर्माण, भवन निर्माण जस्ता सामान्य योजनाको अपेक्षा यो क्षेत्रको होइन । हामी कैलालीको पूर्वि क्षेत्र, बिगतमा सुदुरपश्चिम सरकारबाट उपेक्षित भएको क्षेत्र, संघियताको आन्दोलनमा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउनका निम्ती सबै भन्दा बढी क्षेति ब्यहोरेको क्षेत्र, अथाहा सम्भावना बोकेको तर राज्यबाट उपेक्षित भएको क्षेत्रलाई यस पटक तपाईको नेतृत्वमा सरकार भएका बेला यो क्षेत्रको मुहार बदल्ने योजना र निति चाहान्छौं । जसले तपाईको भावि राजनैतिक जिवनमा समेत गर्व गर्ने अवसर मिलोस । हिजो सार्वजनिक भएको सरकारको निति तथा कार्यक्रम खासै आश लाग्दो देखिदैन । तर अपेक्षा गरेका छौं । बजेटमा कैलालीको पूर्वि क्षेत्रका यी मुहार बदल्ने योजना समेटिने छन ।
समग्र कैलालीको पूर्वि क्षेत्रवासीका तर्फबाट
मातृका तिमिल्सैना
टीकापुर, कैलाली