ललितजंग शाही
मैले जानकारी पाए सम्म अन्य विकशित देशका नागरिक भन्दा विषेशत भारत र नेपालका नागरिकहरु बेसी फुर्सदिला, अल्छी र गफाडी भएको सुन्न र देख्न पाईन्छ । यसको मुल कारण भनेको पैत्रिक सम्पत्ति स्वतह पुस्तान्तरण हुने कानून रितीरिवाज र परम्पराको मुख्य भूमिका रहेको पाईन्छ । अन्य विकशित देशहरुमा सन्तानहरुलाई कक्षा १२ पास गरे पश्चात स्वयं आफ्नो खुट्टामा उभिन प्रेरित गर्ने सामाजिक परम्पराले युवा युवतीहरु समयमै सचेत भएर आफ्नो जीवनयापनका उपाय खोज्नका साथै शैक्षिक स्तर वृद्धिमा लाग्दछन्, नकी चौतारी गफमा ।
अर्काे तर्फ हाम्रो देशको राजनीति, शिक्षा प्रणाली रोजगार मुखी र उत्पादन मुखी छैन । किताबी ज्ञान बाहेक अन्य सामाजिक सद्भाव, अनुशासन तथा ज्ञान गुनका कुरा फिटिक्कै पाईदैन । जसको परिणाम पढाई पुरा हुन नपाउदै सिधै विदेश जाने उतै रमाउने मनोविज्ञान हावी भएको पाईन्छ । बरु ३२ साल अगाडीको शिक्षा प्रणालीले परिवार, समाज र देशका लागि उपयोगी थियो । आध्यात्मीक चिन्तन भन्दा भौतीक चिन्तन समाजमा हावी भए पश्चात नेपालका प्राय सबै निकाय संघ संस्था, राजनीतिक पार्टीहरु पश्चिमाहरुको प्रत्यक्ष प्रभावमा परेर देशका सबै सामाजिक सांस्कृतिक संरचना परम्पराहरु भताभुङ्ग भई सकेका छन् । उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने ५० प्रतिशत भन्दा बढी युवा युवतीहरु विदेशीए पछि हाम्रो समाजमा सबै क्षेत्र निकायबाट गलेका थाकेका अधबैशे नागरिक र १८ वर्ष मूनीका बालबालीकाहरुको बर्चस्व रहेपछि सभा समारोह चिया चौतारी आदिमा नचाहिने गफ बाहेक केही सुन्न पाईदैन ।
देशको राजनीति अर्थतन्त्र कृषि स्वास्थ्य कानून लगायतका सबै विषयमा आफुलाई सबै थाहा छ भन्न मै बढी समय गफाडीले खर्चिने गर्दछन् । यस्तै कुरौटे समाज गफाडी नागरिकहरुको वाहुल्यता रहेको हुँदा राजनैतिक खेलाडीहरुले बारम्बार हामीलाई मुर्ख बनाएर चुनाबी रोटी सेकी रहेका छन् । समाजमा अगुवाका रुपमा स्थापित व्यक्तिहरु मध्ये अधिकांश केन्द्रिय स्तरका गुट उपगुट र प्रभावशाली व्यक्तिको प्रवक्ताका रुपमा आफुलाई पेश गरेको पाईन्छ । उनीहरुको सफलतामा आफ्नो भविष्य देख्नाले स्थापित पार्टीका कार्यकर्ताले समेत पार्टीको सिद्धान्त निती कार्यक्रम उपलब्धी बारेमा छलफल चिन्तन विचार विमर्श कहिले पनि गरेको पाईदैन । संगठन बारेमा पार्टीका पदाधिकारी समेतलाई चासो छैन । स्थानिय स्तरका अगुवाहरु जिल्ला र केन्द्रका नेताले अराएको भन्दा घटी बढी केही पनि गर्दैनन् । त्यस्तै केन्द्रिय स्तरका पार्टी र तिनका नेता गुट उपगुटहरु विदेशी एजेन्सीहरुले लाय अरायको काम बाहेक देश र जनताका लागि केही गरे हुन्छ भन्ने सकारात्मक सोच र चिन्तन नै छैन बरु छिटोछिटो कसरी धनी बन्ने भनेर सबै किसिमका अनियमिततामा चुर्लुम्मै डुबेको देखिन्छ । त्यसैले सकारात्मक परिवर्तनका लागि जनता जाग्नुको कुनै बिकल्प छैन……