टीकापुर नगर कार्यपालिकाका अनौठा र अपरिपक्क निर्णय


१- नगरपमुखको विदेश भ्रमणको सम्पूर्ण खर्च नगरपालिका को दैनिक भ्रमण भत्ता शीर्षकबाट खर्च  गर्ने निर्णय

२-पार्कमा फोटो खिचाउने सामान्य व्यवसाय गर्नेहरूका  लागि टेन्डर गर्ने निर्णय

३-टिकापुर पार्कमा कर्मचारी व्यवस्थापन गर्ने र पार्कलाई लिजमा दिनका निम्ति अध्ययन गर्ने दुई विरोधाभासपूर्ण निर्णय एकै दिन

४-दशैं र तिहारमा गरिने सांस्कृतिक कार्यक्रमका लागि १० लाख खर्च गर्ने निर्णय

टिकापुर ८ असोज

टिकापुर नगरपालिकाको हालै बसेको नगरपालिकाको निर्णय हरू नगरपालिकाको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।

नगरपालिकाका निर्णयहरू हेर्दा केही निर्णयहरू विरोधाभासपूर्ण , अनावश्यक खर्च गर्ने खालका र गरिब मारा देखिन्छन् ।

पार्कलाई लिजमा दिने विरोधाभासपूर्ण निर्णय 

नगर कार्यपालिकाको बैठकले टिकापुर नगरपालिकालाई लिजमा दिनका निम्ति अध्ययन गर्न वार्ड नम्बर ७ का वडा अध्यक्ष यज्ञराज न्यौपानेको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ।

अध्ययन समितिमा अन्य कार्यपालिकाका सदस्य र वडाध्यक्षहरू तथा केही कर्मचारीहरू समेत सदस्यका रूपमा राखिएका छन् ।

तर एकै निर्णयमा टिकापुर पार्कमा कर्मचारी व्यवस्थापन गर्ने समेत निर्णय गरिएको छ।

एकातिर टिकापुर नगरपालिकामा जथाभावी कर्मचारी नियुक्त गरिएको भनी आलोचना भइरहँदा दैनिक ज्यालादारीका नाममा यसै वर्ष मात्रै करिब ४० जना नियुक्त गरिएको छ भने पार्कका नाममा समेत थप मान्छेहरू नियुक्त गर्नका निम्ति कार्यपालिकाको निर्णयबाट घुमाउरो ढङ्गले बाटो खोलेको देखिन्छ।

टिकापुर नगरपालिकालाई दीर्घकालीन रूपमा आर्थिक बोझ पर्नेगरी कर्मचारी नियुक्ति जारी राखेको टीकापुर नगरपालिकाले एकै निर्णयमा टीकापुर नगरपालिकालाई निजी क्षेत्रलाई लिजमा दिनका निम्ति अध्ययन गर्नका निम्ति कार्यदल बनाएको देखिन्छ भने सोही निर्णयमा पार्क व्यवस्थापनका निम्ति थप कर्मचारी राख्ने समेत निर्णय गरेको देखिन्छ।

टिकापुर पार्कलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न निजी क्षेत्र लाई लिजमा दिने निर्णय सैद्धान्तिक रुपमा गलत नभए पनि एउटै निर्णयमा पार्कलाई लिजमा दिन अध्ययन गर्ने र कर्मचारी व्यवस्थापन गर्ने भनी दुई विरोधाभासपूर्ण निर्णय हुनलाई स्थानीय बासीले पार्कका नाममा समेत चोर बाटोबाट कर्मचारी भर्ना गर्ने षड्यन्त्रका रुपमा बुझेका छन्।

बृहत सांस्कृतिक कार्यक्रमका नाममा १० लाख

नगर कार्यपालिकाले वृहत सांस्कृतिक कार्यक्रमका नाममा १० लाख रकम विनियोजन गरेको देखिन्छ।

टिकापुर नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष तथा नगरकार्यपालिकाका सदस्य लालवीर चौधरीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम गर्ने र त्यसका लागि १० लाख विनियोजन गर्ने निर्णय गरेको देखिन्छ ।

टिकापुर नगर पालिकाभित्रको बजार क्षेत्रका प्लानिङहरूमा कैयौँ सडकहरूमा अहिलेसम्म एक चिम्टी माटो समेत पर्न सकेको छैन।

यस्तो अवस्थामा बर्सातको समयमा नगरवासीहरूले आफ्नो घर जानका निम्ति समेत पानीका आहालहरू छिचोलीरहनु परेको बेला जनताको करबाट संकलित रकम सांस्कृतिक कार्यक्रमका नाममा दशौँ लाख खर्च गर्ने गरी विनियोजन गरिनुलाई मामाको धन फुपूको श्राद्व जस्तो देखिएको छ।

टिकापुर सांस्कृतिक समाज र अन्य थारु समुदायका सांस्कृतिक पर्वहरूमा सामान्य खर्च दिनुपर्दा निधार खुम्च्याउने टिकापुर नगरपालिका ले आफैले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमका निम्ति १० लाख रुपैयाँ विनियोजन गर्नुलाई जथाभावी खर्चको रूपमा बुझ्ने कि नबुझ्ने ? स्थानीय एक नगरवासीले प्रश्न गरे।

१० लाख रुपैयाँ नगरपालिकाले खर्च गर्दा आफैंले खर्च गर्न पाउने वा नपाउने भन्ने कानुनी जटिलता समेत रहेको अवस्थामा कुनै कार्यविधि बिना यसरी सांस्कृतिक कार्यक्रमका नाममा बजेट खर्च गरिनु आर्थिक ऐन विरुद्ध समेत हुने जानकारहरू बताउँछन्।

पार्कमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्नेहरूलाई निरुत्साहित गर्न ठेक्का 

टिकापुर पार्क भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई फोटो खिचाएर दैनिक जीविकोपार्जन गरिरहेका हरूको गाँस काट्ने गरी टिकापुर नगर कार्यपालिकाको बैठकले फोटोग्राफी गर्नेहरूलाई टेन्डर गर्ने निर्णय गरेको छ।

गतवर्ष टिकापुर नगरपालिकाले आफूले उठाउनुपर्ने ढुङ्गा गिट्टी बालुवा को टेन्डर गर्न नसकेर करोडभन्दा बढी रकम टिकापुर नगरपालिकाको आन्तरिक स्रोतमा घाटा हुनेगरी ठेक्का नलगाउने तथा वार्षिक रूपमा करिब १० लाखमा टेन्डर जाने आइल्यान्डलाई कुनै पनि शुल्क नलिएर सञ्चालन गर्न दिएको आँखै अगाडि देखेका स्थानीय बासिन्दाहरू दैनिक १०० रुपैयाँ टिकापुर नगरपालिकालाई रसिद काटेर कर तिरेर फोटोग्राफी गरिरहेका सर्वसाधारण को व्यवसाय धरापमा पर्नेगरी फोटोग्राफीमा टेन्डर खोल्ने गरी टीकापुर नगरपालिकाले गरेको निर्णयलाई गरिब मारा निर्णयको संज्ञा दिन थालेका छन्।

आज टिकापुर नगरपालिका राजस्व शाखामा reportingका क्रममा खप्तड खबरको प्रतिनिधि रहेका बेला टिकापुर पार्कमा फोटोग्राफी गर्ने पाँच सात जनाको समूहले आएर राजस्व शाखामा आफूहरूको पेट मर्ने गरी टेन्डर नगर्न आग्रह गरिरहेको थियो।

टिकापुर पार्कमा करिब २२ जनाले अहिले दैनिक प्रतिव्यक्ति १०० रुपैयाँको टिकापुर नगरपालिकालाई रसिद काटेर फोटोग्राफी गरिरहेका छन् ।

गतवर्ष मात्रै आफ्ना आन्तरिक स्रोतमा ठेक्का नगरेर आन्तरिक मिलेमतोबाट ढुङ्गा गिट्टी बालुवा आइल्याण्ड टिकापुर पार्कको बगैंचा, संकट र दौलतपुर घाटको स्टिमर लगायतका ठाउँबाट टेन्डर नै नगरेर आन्तरिक स्रोत मा लात मारेको टीकापुर नगरकार्यपालिकाले सामान्य फोटो खिचेर जीविकोपार्जन गर्ने हरूको पेटमा लात मार्ने गरी यस्तो गरिबमा र निर्णय किन गर्यो? यो चासोको विषय बनेको छ।

मनपर्दी रूपमा ज्यालादारी कर्मचारी नियुक्त 

पछिल्लोपटक टिकापुर नगरपालिकामा ज्यालादारीमा ४० देखि ५० जना थप कर्मचारीहरू नियुक्त गरिएको नाम नछाप्ने शर्तमा एकजना कार्यपालिकाका सदस्यले जानकारी दिए।

उनले भने’कति मान्छे दैनिक ज्यालादारीमा काम गरिरहेका छन् यो विषयमा अझै पुरै जानकारी आउन सकेको छैन’ ।

टिकापुर नगरपालिकामा आन्तरिक स्रोत घट्दै गइरहेको, नगरपालिकाको सटरबाट उठाउने पैसा नगरपालिकाले उठाउन नसकेको, ढुङ्गा गिट्टी बालुवाबाट उठाउनुपर्ने पैसा उठाउन नसकेको, घाट र आइल्यान्ड लगायतका ठेक्काहरू हुन नसकेको अवस्थामा नगरपालिकालाई व्ययभार बढ्ने गरी तथानाम कर्मचारी राखिनुले नगरपालिकाको का प्रमुख को नियत माथि प्रश्न उठेको छ।

सिकलसेल अस्पतालका नाममा ९० लाख खर्च गरिँदै

टिकापुर क्षेत्रमा सिकलसेल एनिमियाका बिरामी अरुको चाप बढेको छ । उनीहरूले निःशुल्क उपचार पाउनुपर्ने स्थानीय जनताको माग छ। र यसलाई समाजसेवीहरूले समेत समर्थन गरेका छन् ।

सिकल सेल एनिमिया अस्पताल सञ्चालनका निम्ति विशेषज्ञ सेवासहितको आइसियु समेत आवश्यक पर्ने गर्दछ।

टिकापुर अस्पतालमा हाल विशेषज्ञ सेवा र आइसियू समेत (सानो) सञ्चालनमा रहेको छ ।

टिकापुर अस्पतालमा नै छुट्टै सिकलसेल वार्ड स्थापना गरेर ल्याब र आइसियुमा नगरपालिकाले सिकलसेल एनिमिया अस्पतालका नाममा खर्च गर्न लागेको ९० लाख रकम सदुपयोग गर्ने हो भने यसले यस क्षेत्रका बिरामीहरूका निम्ति ठूलो राहत मिल्ने अवस्था देखिन्छ।

तर टिकापुर नगरपालिकाले त्यसो नगरेर १५ बेडको छुट्टै सिकलसेल एनिमिया अस्पताल सञ्चालन गर्ने निर्णय गरेर एकजना एमबिबिएस डाक्टरको नेतृत्वमा सञ्चालन गर्न खोजेको सिकल सेल एनिमिया अस्पताल एउटा सामान्य स्वास्थ्य चौकीले गर्ने उपचार जतिको उपचार पनि दिनसक्ने अवस्थामा रहँदैन।

यसरी सिकल सेल एनिमिया अस्पताल सञ्चालन गर्ने निर्णय बाहिरबाट हेर्दा लोकप्रिय देखिए पनि भित्री रूपमा यसको काम सामान्य cbc हेरेर टीकापुर अस्पताल वा अन्य अस्पतालमा रेफर गर्नुभन्दा अरु काम नहुने विशेषज्ञहरु बताउँछन्।

टिकापुर नगरपालिकाले सिकलसेल अस्पताल छुट्टै सञ्चालन गर्ने रटान छोडेर टिकापुर अस्पतालभित्रै १५ वार्डको छुट्टै सिकलसेल वार्ड स्थापनाका निम्ति पूर्वाधार र उपकरणमा सहयोग गरिदिने हो भने टिकापुर अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकबाट सिकलसेलका बिरामीहरूले राम्रो सेवा पाउन सक्ने अवस्था रहन्थ्यो ।

तर टिकापुर नगरपालिकाले केही मान्छेलाई जागिर खुवाउनकै निम्ति छुट्टै अस्पताल सञ्चालनको रटान लिएर दरबन्दी क्रिएट गर्दै अगाडि बढेको देखिन्छ ।

कार्यपालिकाका सदस्यहरू रमिते

टिकापुर नगरपालिकाभित्र अव्यवहारिक र अध्ययनबिना नै अनावश्यक खर्च बढाउने खालका यस्ता निर्णयहरु हुँदै गर्दा पनि बैठकमा कार्यपालिकाका सदस्यहरु किन प्रश्न उठाउन सकिरहेका छैनन् यो विषय आम जनताका निम्ति चासोको विषय बनेको छ।

नगरपालिकाले गर्ने अव्यवहारिक र अपरिपक्क निर्णयको भारी भोलि टिकापुर नगरबासीले नै बेहोर्नुपर्ने अवस्था देखिँदैछ।

नगरपालिकाको कर्मचारी संयन्त्र तहसनहस हुनेगरी निर्णय गरिँदैछ भने कुनै पनि कुराको दीर्घकालीन असर र प्रभावका बारेमा सम्बन्धित क्षेत्रका जानकारहरूको परामर्श समेत नलिएर नगरपालिका अगाडि बढ्नुलाई स्थानीय बासिन्दाहरूले दुर्भाग्यका रूपमा बुझेका छन् ।

 

 

 

 

Khaptadkhabar the love