
एकिन्द्र तिमिल्सिना
टीकापुरका कृषकले नगरपालिकाले कृषि उत्पादन, प्रवद्र्धन र बजारीकरणको नीति बनाउनु पर्ने माग गरेका छन् । जनतासँग मेयर उपमेयर कार्यक्रमको दोस्रो श्रृखलामा विभिन्न कृषि कर्ममा रहेका किसानको मागमा आधारित भएर सहज रुपमा वृहत कृषि क्षेत्र विस्तारको कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिएका छन् । तर संघ र प्रदेशले राखेका शर्त अनुसार किसानहरुले काम गर्न नसक्दा बजेट फ्रिज भैरहेको स्थानीय सरकारका प्रतिनिधिको भनाई छ ।
बनाना सिटी र केरा अनुसन्धान केन्द्र बनाऔं
टीकापुरमा केरा खेती र केराका परिकारले पहिचान पाएको छ । भुक्तभोगीहरु भन्छन् ‘यत्तिमै सिमित नहोऔं यसको विस्तारको क्षेत्र अझै धेरै छ ।
टीकापुरका पर्यटन व्यवसायी कालु हमालले केरा खेती सबैको साझा व्यवसाय भैसकेकाले केरा खेती र कृषि पर्यटन संगसँगै लैजानुपर्ने बताउनु हुन्छ । उहा भन्नुहुन्छ ः टीकापुरको चिनारी केरा भैसकेकोले टीकापुरलाई बनाना सिटीको रुपमै चिनाउनु पर्छ । हरेक व्यक्तिले घर वरिपरी केराका केही बोट लगाउन सके भिटामिन ए पनि हुने, बोटले गाईगोरुलाई दाना पनि हुन्छ । नेपालभित्रैको केन्द्र र छिमेकी मुलुकका मानिसलाई पनि सहज हुने टीकापुरमा धेरै वनाना रिसोर्ट बढाउन सकिन्छ । टीकापुर स्थानीय जातका केराको पनि केन्द्र भएकाले टीकापुर नगरपालिकाले केराको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सक्नुपर्छ । भारत र चीनलाई लक्षित गरी अग्र्यानिक केराका उत्पादन दिऔं ।
टीकापुर वडा नं. ४ का केरा व्यवसायी तथा बेर्ना उत्पादक टेकेन्द्र धामीको अनुभवमा टीकापुरमा केरा खेती र विस्तारमा युवा कृषकको उत्सुकता बढेको देखिन्छ । टीकापुरको उत्पादनलाई बाहिरका उपभोक्ताले रुचाएका छन् । टीकापुरका केरा कृषकलाई बाहिरका पालिकाले बोलाएर छलफल गर्ने गरेपनि टीकापुर नगारपालिकाले गरेको छैन । धामीका अनुसार यतिबेला उहाको नर्सरीमा २ लाख बेर्ना तयार भएका छन् । यसले सय विगाहमा केरा खेती बिस्तार हुनेछ । केरा व्यवसायीका अनुसार देशको माग हेर्दा केरा उत्पादन थोरै छ तर नेपाली बजारमा भारतीय केराको सहज पहुचले यहाका किसानका केरा बारीमै सडने अवस्था छ । युवाहरु आकर्षित भएर केरा व्यवसायमा लागे पनि स्थानीय सरकारले किसानका समस्या बुझ्न नसकेको, अहिले केरा फुटने बेला मल नपाएको धामीको गुनासो छ ।
केरा व्यवसायी दिपेन्द्र थारु नगरपालिकाले नीतिगत रुपमा कृषकलाई काम गर्ने वतावरण दिनुपर्ने बताउनु भयो । संघीय तथा प्रदेश सरकारको कार्यक्रममा स्थानीय सरकारले अनुगमन गर्नु आवश्यक रहेको बताउदै कृषकको लागि आएको रकम फ्रिज जान नहुने र कृषि विमालाई सहज बनाउनु पर्ने बताउनुहुन्छ । टीकापुरमा रहेका २ वटा कृषि क्याम्पसको जनशक्तिलाई नगरपालिकाले उपयोग गर्न सक्नुपर्ने उहाको सुझाव छ ।
नगरका ३५ प्रतिशत किसान कृषिमा छन् । केरा खेतीमा लगानी र युवा सहभागिता बढ्दो छ । उपमेयर केशरी रावल विष्ट केराका परिकार उत्पादनमा युवाहरुलाई जोडन सकिने बताउनुहुन्छ । उपपमेयर तपेन्द्रबहादुर रावल नगरपालिकाको कृषिलाई अगाडि बढाउने नीति नै रहेको बताउनुहुन्छ । ‘केराले नगरको पहिचान बनाइसक्यो । बनाना सिटीको अवधारणाप्रति सबै नगरवासीले अपनत्व पनि लिइसके । केरा खेतीमा युवाको सहभागिताले भविष्य उज्जवल छ,’ मेयर रावल भन्नुहुन्छ, ‘प्रदेश सरकारले केराका लागि दिएको ३० लाख बजेट फ्रिज हुदैछ । किसानको अवस्था नबुझेको र कडा शर्त राखेका कारण केरा किसानले रकम लिन सकेनन् ।’
मेयर रावलले टीकापुरमा उत्पादन भएको बीउ यहाका किसानले पाउन नसकेका र बाहिर बिक्री भएको भन्दै बीउ उत्पादकले स्थानीय उपभोक्तालाई पहिलो प्राथमिकता दिनुपर्ने र आगामी दिनमा सहकारी र किसानसंगको छलफलमा योजना बनाउने प्रतिवद्धता जनाउनुभयो । यस्तै ३ तहका सरकारकाबीचका अस्पष्टता हटाउदै जाने, कृषि बीमामा सहजीकरण गर्ने र कृषिको प्राविधिक जनशक्तिलाई उपयोग गर्ने बताउनुभयो ।
वर्षमा ५५ लाखको कार्यक्रम, अपेक्षा धेरै, सेवा कम
नगरपालिकाको कृषि शाखाले यस वर्ष २ सय २५ जनालाई कन्या च्याउ तालिम, दलहन तेलहन तालिम २५ जना, अनु्दानमा खुर्सानी प्याज, धान गहु मकैको बीउ, कृषक पाठशाला ८ वटा, वडा नं ८ मा २ वटा पावर टिलर, ३० वटा बोरिङ वितरण गर्दा करीब ४२ लाख खर्च भैसकेको र यसबाट १५ सय जना लाभान्वित भएका कृषिशाखा प्रमुख तुलसीराम सुवेदीको भनाई छ । लकडाउनका कारण कतिपय कार्यक्रमहरु गर्न नसकिने उहाको भनाई छ ।
साना किसानहरु बिउबिजन र वडामै प्राविधिक माग गरिरहेका छन् । कृषक समन्वय समिति वडा नं ३ का अध्यक्ष सीता चौधरी वडा नं ३ मा जेटिए र सिचाईको व्यवस्था हुनुपन २÷४ कठ्ठामै भएपनि तरकारी खेती गर्नेलाई बीउमल, प्राविधिक चाहिने बताउनु हुन्छु । उहाका अनुसार वडाबाट पाउने नाम मात्रैको सेवाले किसानलाई पुग्दैन बढाउनु पर्छ । नगरपालिकाको कृषि शाखामा ५ जना मात्रै कर्मचारी छन् । साविक नारायणपुर र धनसिंहपुर गाविसमा रहेका २ जना कृषि प्राविधिकले सेवा दिइरहेपछि बाकी ३ जनालाई कार्यालय प्रशासन र फिल्ड हेर्न भ्याइ नभ्याइ छ । सरकारले अहिले तोकेको दरवन्दी अनुसार कर्मचारी नभएको शाखा प्रमुख तुलसीराम सुवेदीको भनाई छ ।
नगर कृषक समन्वय समितिका अध्यक्ष टोपबहादुर केसी नगरपालिकाले कृषिमा युवा लक्षित तथा आर्कषणको कार्यक्रम ल्याउनु पर्ने, उत्पादनसँगै उचित बजार मूल्यको सुनिश्चिता सँगै बीउ बैङको स्थापना गर्न हुनुपर्ने बताउनु भयो ।
वडा नं ८ का किसान कृष्णगोपाल चौधरीले कृषि शाखाका कार्यक्रम फाट्टफुट्ट किसानलाई खुशी बनाउने साना कार्यक्रम रहेको र अनुदान दिने हो भने किसानले खाता मै पाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले लकडाउनका बेला किसानको उत्पादन व्यवस्थापन गर्न नसकोका गुनासो गर्द उत्पादन खरिद र कोल्ड स्टोरको व्यवस्थागर्न सुझाव दिनुभयो ।
सृजनशिल युवा कृषक समूहका सचिव रंग अधिकारीले नगरपालिकाका कृषि शाखाको अनुदानमुखी कार्यक्रम छन् । पाउन झन्झटिला छन् । यसले किसानलाई प्रतिफल दिदैन । कृषि शाखामा मिलोमतो हुन पाउने गरेका छन् । म जत्तिको युवाले त भूलचुकले मात्रै सूचना पाउछु अरुले झन के पाउलान ? किसानको माग अनुसारको कार्यक्रम होस न कि कार्यालयले तोेके अनुसार ।
टीकापुर बेलुवाका बिश्राम चौधरी कृषिमा नाम मात्रको अनुदानले न ठोस योजना देखिएको न अनुदानको प्रभाव देखिएको बताउनुहुन्छ । टीकापुरको राजीपुरस्थित प्रगतिशील कृषक समूहका अध्यक्ष नारायण विश्वकर्माले कृषि शाखाले गरेका कार्यक्रम ठिकै छन तर केरा जस्तै आलु प्याजमा आत्मनिर्भर गर्न र भारतबाट आयत घटाउन आफ्नो समूह लागिरहेको बताउनुहुन्छ ।
भारतबाट हुने आलू प्याज आयात घटाउन कार्यक्रम ल्याउदै छौं । कृषि शाखा प्रमुख सुवेदी किसानले माग गरे अनुसार दिन नसकिरहेको र किसानको मागकै आधारमा दिदा पनि सन्तुष्टि दिन नसकिएको स्वीकार्नुहुन्छ ।
ठूला किसानको ठूलै साेंच
ठूला किसानहरुले भने कृषिलाई आवश्उक पर्ने मलखाद र सिचाइको व्यवस्था हुनुपर्ने र कृषि सहकारीलाई उद्योगको रुपमा विकास गर्ने नीति लिनुपर्ने माग गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं १ बनगाउँस्थित नमूना कृषक बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष कृषक जीतबहादुर चौधरीले टीकापुर खाद्यान्न बालीको बीउ उत्पादनको क्षेत्रमा राम्रो रहेकोले नगरपालिकाले विशेष महत्व दिन आवश्यक रहेको बताउनु भयो । नगरले बीजवृद्धिको क्षेत्रमा काम गरिरहेका कृषि सहकारीहरुलाई उद्योगको निती लिएर टुक्रे योजना नभई उत्पादन र बजारीकरणको लागि सहयोग गर्नु पर्ने बताउनु भयो । नगरपालिकाले बीज वृद्धिमा लगानी गरेन आवश्यकता छ बजार छ टुक्रे योजना होइन कृषिमा औद्योगिक नीति आउनु पर्ने चौधरीको माग छ ।
धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिह साउदले नगरले कृषि औजारसँगै असिंचित क्षेत्रमा सिचाईको व्यवस्थाको लागि पहल गर्नु पर्ने र कृषकलाई अति आवश्यक मलखादको व्यवस्थापनमा नगरले पहल गर्नुपर्ने बताउनु भयो । उहाले अनुदानका कामान बजारमूल्य भन्दा धेरै महंगा छन् । कुला लाग्ने ठाउमा बोरिङ किन दिनुप¥यो ? रानीजमरा कुलरियाले प्रदान गर्ने अनुदान पहुचवालाले मात्रै पाउने हो र ? यसमा नगरपालिको जवाफ दिनुपर्ने बताउनुभयो ।
मेयर रावलले रानी जमरा कुलरियाले बाडेका सामान हरेक वर्ष एउटै किसानले पाएको लगायतका अन्य प्रकारका गुनासा आइरहेकाले छलफलको क्रममा छौं । सस्तो सामानमा बढी मूल्य हाल्नु परेको गुनासाको छानविन गरी पछि जानकार दिनेछौं । उपमेयर केशरी रावल विष्टले रानी जमरा कुलरिया आयोजनाले नगरपालिकासंग समन्वय नगर्दा दोहोरोपन भैरहेकाले कार्यालयमै गएर भन्दा पनि सुधार नभएको बताउनु भयो ।
विज्ञ भन्छन्ः कृषि नीति र कार्यक्रम नै वृहत बनाऔं
कार्यक्रममा टीकापुर पोलिटेक्निकल इन्टिच्युटका कृषि कार्यक्रमका संयोजक हेमन्त न्यौपानेले टीकापुर नगरपालिकाले कृषि नीति तथा कार्यक्रममा परिवर्तन गरी बृहत बनाउनुपर्ने बताउनुहुन्छ । उहा भन्नुहुन्छः पकेट क्षेत्र घोषणा गर्नु अघि माटो जाच गरेर मात्रै गरौं । कहा के हुन सक्छ संभावनाको सर्वेक्षण गरौं । नगरपालिकामै कृषिको नीति कृषकका बीचमै बसेर बनाऔंैं । टीकापुरमै कौसी खेती गर्न सकिन्छ । किसान २÷४ दिनको तालिमले पुग्दैन पूर्ण सीप चाहिन्छ । सिटिइभीटीले खाजासहित निशुल्क तालिम दिदा पनि आउदैनन् । उहाँले उच्च मुल्यका बालीहरु, सामुहिक सहभागितामा खेती, मिनि किट वितरण, दोहोरो लाभ लिने जस्ता कार्यक्रममा ध्यान दिनुपर्छ ।
जनतासंग मेयर उपमेयर कार्यक्रममा सहभागी मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी रावल विष्टले जनताको माग र विज्ञको सुझाव अनुसारै नगरपालिकाको नीति र कार्यक्रम अगाडि बढाइने प्रतिवद्धता जनाउनु भएको छ । टीकापुर नगरपालिकाको आयोजनामा संचालन भएको जनतासँग मेयर उपमेयर कार्यक्रम पत्रकार मातृका तिमिल्सेनाले संचालन गर्नु भएको थियो ।