टीकापुर १७ चैत
कोरना भाइरसको संक्रमणलाई रोक्नका लागि अहिले देश लकडाउनमा छ । लकडाउनको कार्यान्वयन गर्न स्थानिय निकाय, प्रहरी र आम जनसमुदाय लागेको देखिन्छ । सरकारले हालै विदेशबाट फर्कियकाहरु कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको छ । यसैको कार्यान्वयनका लागि जानकी गाउ पालिका वार्ड नं.९ ले आफ्नो वार्डमा हालै विदेशबाट आएकाहरुको घरमा रातो झण्डा लगाउने निर्णय गरेको छ ।
“विदेशबाट आएकाहरुको घर पहिचान गर्न सजिलो होस भनेर यसो गर्ने निर्णय गरेका हौं” सो वडाका अध्यक्ष खकेन्दै भण्डारीले भन्नु भयो ।
विदेशबाट फर्किएकाहरुलाई अरुको सम्पर्कमा जान नदिएर कोरनाको संक्रमण हुनबाट बचाउन यसो गरिएको भण्डारीले बताउनुभयो ।
“अहिले कोरनाको महामारीबाट विश्व आक्रान्त छ, यति बेला पनि विशेष गरी भारतबाट फर्किएकाहरुको पहिचान गर्न सजिलो होस भनेर यो उपाय निकालेका छौं”अध्यक्ष भण्डारीले भन्नुभयो ।
विदेशबाट आएका घरमा टोल छिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय प्रभावकारी हुने उहाँको भनाई छ ।