‘वार्ड बढाएर मात्रै हुदैन, प्रशासनिक खर्च धान्न सक्ने पनि हुनु पर्छ ’ः
वार्ड अध्यक्ष गंगाराम आचार्य
‘नगर सभा स्थगन भएको दुई महिनामा सहमतिका लागि औपचारिक छलफल नै भएन ’ः वार्ड अध्यक्ष रामलाल डगौरा
‘आम राजनैतिक सहमति गरेर विषेश नगरसभाबाट निर्णयको प्रयास हुनेछ’ ः
नगर प्रमुख तपेन्द्र रावल
टीकापुर १८ फागुन
वार्ड विभाजनको विषयमा सहमति गर्नका लागि भन्दै गत पौषमा स्थगित टीकापुरको आर्ठौं नगर सभा दुई महिना सम्म पनि सो विषमा सहमति हुन नसकेपछि विना निस्कर्ष टुँगिएको छ ।
आठौं नगर सभा अघि वार्ड विभाजनको सिफरिस गर्न वार्ड नं.१ का अध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा नगर कार्यपालिकाले एक उपसमिती गठन गरेको थियो ।
उप समितिले टीकापुर नपा वार्ड नं. १ लाई ४ वडा र वार्ड नं.२ लाई २ वडा बनाउन सिमाना सहित सिफरिस गरेको बताईएको थियो ।
आफुहरुको उपसमितिले भूगोल, जनसंख्या लगाएतका सबै सम्भाव्यता अध्यान गरेर सिफारिस गरेको र सो विषयमा नगर सभामा सहमति हुन नसकेपछि बिना निर्णय नगर सभा सम्पन्न भएको वार्ड नं.१ का अध्यक्ष आचार्यले बताउनु भयो ।
‘वार्डको संख्या अझै बढाउने प्रस्ताव पनि सभामा आए तर वडा बढाउदा भोलीका दिनमा प्रशासनिक खर्च नै धान्न नसकिने गरी बनाउन हुदैन भन्ने मेरो धारणा हो ’ आचार्यले भन्नु भयो ।
टीकापुर नगर पालिका वार्ड नं.७ का अध्यक्ष रामलाल डगौरा वार्ड नं.१ लाई भूगोल, जनसंख्या र कलष्टर समेत मिल्ने गरी ६ वार्ड बनाउन आफुहरुले प्रस्ताव गरेको बताउनुहुन्छ ।
‘६ हजार ४ सय जनसंख्या भएमा वार्ड बनाउन सकिने कार्यबिधिमा छ, १५ प्रतिशत कम बढी पनि हुन सक्छ, हामीले उठाएको कुरा सुनिएन’ वार्ड अध्यक्ष डगौराले भन्नुभयो ।
आठौं नगरसभामा एक मत हुन नसकेपछि वार्ड विभाजनका विषयमा सहमति गर्न भनेर करिब २ महिना नगर सभा स्थगन भएको र सो अबधिमा सहमतिका लागि प्रयाप्त छलफल समेत हुन नसकेको डगौराले जानकारी दिनु भयो ।
‘सहमतिका लागि भनेर सभा स्थगन भएको यति लामो अबधिमा एक पटक एक घण्टा कार्यकालिकामा त्यो पनि अनौपचारिक छलफल मात्र भयो, छलफल नै नगरेपछि कसरी सहमति हुन्छ ?’ डगौराले प्रश्न गर्नुभयो ।
टीकापुर नगरपालिकाको करिब १ लाख जनसंख्या मध्य करिब ५० हजार जनसंख्या वार्ड नं.१ मा बसोबास गर्छ । यति ठूलो जन संख्यालाई सेवा प्रबाह गर्नु १ नम्बर वार्डलाई गाह्रो भएको छ ।
स्थानिय सरकार संचालन ऐनमा निर्वाचन हुनुभन्दा १ वर्ष अगाडी नगर सभाको दुई तिहाई बहुमतबाट वार्ड विभाजन गर्न सकिने कुरा उल्लेख छ ।
टीकापुर नगरपालिकाका कानुन अधिकृत केशर थापा निर्वाचन हुनु भन्दा १ वर्ष अगाडी नगर सभाले कानुन अनुसार वार्ड विभाजन गरिसक्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
‘स्थानिय सरकार संचालन ऐनको दफा ३ देखि ६ सम्म सो विषयमा उल्लेख छ, निर्वाचन हुनुहुन्दा १ वर्ष अगाडी सिफरिस गर्न सकिएन भने आगामी ५ वर्ष सम्म फेरी वार्ड विभाजन हुन नसक्ने अवस्था छ’ कानुन अधिकृत थापाले भन्नुभयो ।
नगर सभा स्थगन गरेर सहमतिको प्रयास गरेपनि सहमति हुन नसकेपछि समापन गर्नु परेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल बताउनु हुन्छ ।
‘अब आम राजनैतिक सहमति बिना यो विषय हल गर्न नसकिने देखियो । हामी फेरी राजनैतिक सहमतिका आधारमा विशेष नगर सभा मार्फत यो विषय हल गर्न लाग्ने छौं’ नगर प्रमुख रावलले भन्नुभयो ।