एकिन्द्र तिमिल्सिना/
चैत १६ गते आइतबारका दिन दिउसो २ बजे तिर टीकापुरको मुख्य बजार लाइन सुनसान छ । ब्लक नं १३ नजिक २ वटा तरकारी पसल खुलेका छन् । ताजा तरकारीहरु राखिएका छन्, ग्राहक भने शून्य छन् । आलु रातो प्रतिकिलो ६० रुपैया, सेतो ५० रुपैया, काक्रो र सिमी ५० रुपैंया, बन्दा, पालुंगोको साग, भण्टा प्रतिकिलो ३० रुपैया, टमाटर १५० रुपैंया प्रतिकिलो मूल्य रहेको छ । साँझ विहान तरकारी किन्न आउने मानिसले लाइन बसेर किन्ने गरेका छन् । यस्तो बेला तौलेर दिंदा ग्राहकले आफै छान्न नपाएको गुनासो गरेका विक्रेताको भनाई छ ।
टीकापुर अस्पतालले अत्यावश्यक सेवाहरु र ज्वरो क्लिीनिक सञ्चालनमा राखेको छ । कसैलाई समस्या परे घरैबाट डाक्टरसंग सल्लाह लिनु र सल्लाह अनुसार गर्नु भनी ११ जना डाक्टरको नाम र मोवाइल नम्बर सार्वजनिक गरेको छ । अस्पताल लाइन बाहेकका औषधि पसल बन्द छन् । औषधिको थोक बिक्रेता चण्डिमाइ मेडिकल स्टोर्सले साझ र विहान मात्रै खुल्ने सूचना जारी गरेको छ । नेपाल अौषधि व्यवसायी सघले कोरोनाबाट सुरक्षा र सावधानी अपनाउदै अत्यावश्यक वस्तु अौषधि पसल खुला राख्न अाग्रह गरेको छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द छन् । नेपाल बैंक लिमिटेड मात्रै खुलेका छन् । टीकापुर नगरपालिकाका २ जना कर्मचारी पैसा निकाल्नु जादा डेढ घण्टा लगाएर भुक्तानी पाएका छन् ।
लकडाउनले गार्मेन्टसले अत्यावश्यक सामग्री उत्पादन गर्न सकेको छैन । दैनिक २० जनाले काम गर्ने महालक्ष्मी गार्मेन्टसले २ जनाबाट मेडिकल गाउन सिलाइरहेको छ । १५ हजार मास्कको कपडा काटिएको तर काम रोकिएपछि घरघरै सिलाउन पठाउने तयारी भैरहेको सञ्चालकले जानकारी दिनुभएको छ ।
टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसको भवनमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा ०९१ ५६००८८ नम्बरलाई हटलाइन सेवाका रुपमा २४ घण्टे बनाइएको छ । त्यहाँ टीकापुर नगरका प्रहरीले ड्यूटी दिइरहेका छन् । आइतबारसम्म २५ जना (६ महिला, ३ बालिकासहित) क्वारेन्टाइनमा बसेका छन् । शनिबार २ बच्चा बिरामी भएपछि टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ झाले क्वारेन्टाइनमै पुगेर जाँच गर्नुभएको छ । क्वारेन्टाइनमा बसेका सबै जनालाई सुत्नलाई बेड, निःशूल्क खाना, इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
नेपाली काग्रेसले नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखालाई ८० लिटर सोडियम हाइपोक्लोराइट हस्तान्तरण गरेको छ । प्राप्त सोडियम हाइपोक्लोराइट हालको क्वारेन्टाइन क्षेत्रमा छर्किन लागेको र नगरपालिकाले मगाएको सामग्री आएपछि जोखिमयुक्त क्षेत्रमा छर्किने नगरपालिकाको जनस्वास्थ्य प्रवर्दन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिनुभएको छ ।
मानिसहरुले लकडाउनलाई आत्मसात गर्न थालेका छन तर त्रास पनि कायमै छ । टीकापुर नगरका भित्री गाउँमा बाटो नै बन्द गराउन थालेका छन् । आइतबार मात्रै टीकापुर नगरपालिका वडा नं १ सत्घरुवाका युवाहरुले न कोही निस्कने न पस्न दिने भनी बाटो नै बन्द गरेका शिक्षक चित्रबहादुर चौधरीले जानकारी दिनुभयो ।
हिउँदे बाली उठाउने बेला भएको लकडाउनले किसानहरु चिन्तित बनेका छन् । तराईमा गहुबाली काट्न रिपर, ढुवानी गर्न र थ्रेसिङ गर्न ट्याक्टर चलाउन अनिवार्य हुन्छ । काम गर्न मानिसहरु खेतमा जानुपर्ने र साधन चलाउन इन्धन आवश्यक पर्छ तर कसरी गर्ने भन्ने चिन्ता भैरहेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउद बताउनुहुन्छ ।
यहाँ भारत र खाडीका देशबाट सयौ मानिस भित्रिएका छन् । यसरी भित्रका मानिसहरु क्वारेन्टाइनमा बस्न नेपाल प्रहरीले माइकिंग गरिरहेको छ । नगरपालिका र वडाहरुले माइकिंग गरिरहेका छन् । एफएमहरुबाट निरन्तर सूचना बजिरहेका छन् तर विदेशबाट आएका मानिसहरु घरमा ज्वरो आएर बसिरहेका हल्ला फैलिरहेका छन् । ल्याउन जाने प्रणाली विकास नभएको र आफै आउने संस्कार नभएकाले कोरोना कतै लुकेको बमका रुपमा त रहेको छैन भन्ने त्रासपूर्ण आशंका छ । आशा गरौं, यी सबै हल्लाहरु गलत सावित हुदै हाल ज्वरो आएका सबै मानिसहरु घरमै निको होऊन ।