२८ जेठ, गौरीगंगा
कैलाली, गौरीगंगा नगरपालीकामा नगर प्रमुख भिम बहादुर देउवाले स्वच्छाचारी तवरले कार्य गरेको भन्दै प्रमुख राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । नगरकार्यपालिकाका बहुमत सदस्यहरुले २०७८/२/२४ गते जारी गरेको विज्ञप्तिले गम्भीर बनाएको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गरेका छन् ।
स्थानीय सरकारको कार्यसंञ्चालन बजेट विनियोजन र खर्च लगाएका बिषयमा अपारदर्शीता, अस्पष्टता र छलफल बिनानै भएको भन्दै नगरकार्यपालिकाका बहुमत सदस्यले असहमति जनाउँदै विज्ञप्ति जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको दलहरुले जनाएका छन् । दुईतिहाई सदस्यले उठाएका बिषय गम्भीर रहेको उल्लेख गर्दै गौरीगंगा नगरपालिकाले कोभिड-१९ को गम्भीर परिस्थितिमा जनसरोकारका बिषयमा ध्यान दिन नसकेको र अपारदर्शी तवरबाट कामकारबाही गरिएको जनाएका छन् ।
वडा नं -५ को जनजागृती आधारभूत विद्यालयको खाता संचालनमा नगरप्रमुखले रोक लगाएको, कोभिड-१९ को सामाग्री र पिपिई सेटको खरिदमा महङ्गो रकम भुक्तानी, शिक्षाशाखाको छानबिनका क्रममा भर्पाइ नदिएर असहयोग गरेको, नदिनाला ठेक्का प्रकृयामा नलगि आफ्नै मातहतका कार्यकर्ता तथा सचिवालयको जिम्मामा ठेलि दिई भ्रष्टाचार र तानाशाह प्रवृत्तिमा बढेको जनाएका छन् ।
नगर कर्मचारीको रुपमा भर्ना गरीएका करारका केही कर्मचारीले राजनीति भाषण वक्तव्य बाजि गर्दै हिड्नुले नगरपालिका माथि गम्भीर प्रश्नचिह्न खडा भएको उल्लेख गर्दै नगरप्रमुखको तहबाट एउटा गुट, संकिर्णता र भ्रष्टाचारको नेतृत्व भएको विज्ञप्तिमा भनिएको छ ।
नगरकार्यपालिका सदस्यले उठाएका बिषयमा छलफल गर्न र कोभिड-१९ का सामाग्रीका अस्वाभाविक भुक्तानी रकम फिर्ता, विद्यालय माथिको हस्तक्षेप बन्द गर्न,शिक्षाशाखाको अनियमितता यथार्थ सार्वजनिक गर्न र आगामी बर्षका विकास योजना छलफल मार्फत ल्याउन तथा व्यक्तिगत प्रचार बाजिमा हिड्ने कर्मचारीको म्याद थप रोक्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यहि जेठ २४ गते नगरकार्यपालिकाका बहुमत सदस्यले आ.व. २०७८/७९ का लागि छुट्याइएको बजेट चित्त बुझ्दो नरहेको भन्दै प्रेस बिज्ञप्ती निकालेर विरोध गरेका थिए ।
सदस्यले उठाएका असन्तुष्टिमाथि छलफल गर्न २६ गते बोलाइएको भर्चुअल बैठक दुईतिहाइ सदस्यद्वारा बहिस्कार भएको थियो ।
नगर प्रमुख भिम बहादुर देउवाले स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था अनुसार प्रक्रिया पूरा गरेर नगरपालिकाले कार्य गरिरहेको बताएका छन् ।