मातृका तिमिल्सैना
बिहान करिब साढे ११ बजे तिर बजारबाट हिड्दै गर्दा टीकापुर नगरपालिकाको गेट अगाडी एउटा भिड देखियो । नजिकै गएर एक जनासँग के को आन्दोलन भएछ फेरि ? भनेर बुझ्दा हाकिम सरुवा हुनुहुदैन भन्ने आन्दोलन हो भनेर जवाफ पाइयो । मलाई कौतुहलता भयो कार्यालयको कर्मचारी को आउने भनेर आम मान्छेलाई खासै चाँसो हुदैन । मलाई पनि हुने कुरो भएन । तर यसरी आन्दोलन किन ? केही रहस्य छ भनेर म भिड तिर लागेँ ।
भिडको बाहिरी घेरामा रहेका करिब ४/५ जनासँग बुझ्ने प्रयास गरें । धेरैबाट जवाफ आएन । केहीले थाहा छैन , जानुपर्छ भने आयौं भने । अलि अघिल्लो तिर नागरिक उन्मुक्ति पार्टीका केही स्थानिय नेताहरु देखिन्थे । उहाँसँग बुझ्दा हाकिम सरुवा किन भयो भनेर आन्दोलन रहेछ भन्ने जवाफ पाइयो ।
ओ हो टीकापुर त निकै अगाडि बढेको रहेछ । मैले करिब २ दशक लामो पत्रकारिता गरिरहदा टीकापुर नगरपालिकाको हाकिम को आयो कसैलाई रोक्नु पर्छ वा ल्याउनु पर्छ भनेर आन्दालन गरेको सामान्यतया देखेको थिएन । आज किन राजनैतिक चलखेल भैरहेको छ भन्ने विषयमा बढी चाँसो भयो ।
आन्दाेलनकारीले का.भा.मेयरलाई ज्ञापन पत्र दियर हािकम सुरुवाकाे बिराेध समेत गरेका रहेछन ।
स्थानिय सामाजिक कार्यकर्ताका रुपमा रहदा मैले टीकापुर नगरपालिका भित्रका सबै गतिबिधिहरु नजिकबाट नियाल्दै आएको हुँ । त्यहा भित्रका सबै घटनाक्रम मध्य गम्भीर ठाउमा मैले आफ्नो धारणा पनि सार्वजनिक गर्दै आएको छुँ । तर यसरी लेख मार्फत नै धारणा सार्वजनिक गनु परेकाे पहिलो पटक हाे। किनकी टीकापुर नगरपालिका भित्रको कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षप भएमा यसले टीकापुरलाई दिर्घकाल सम्म असर गर्ने छ ।
पहिलो कुरा जो सुकै कर्मचारी आएपनि उसले नेपालको कानुन अनुसार काम गर्नु पर्छ । कानुन भन्दा बिपरित कुनै कर्मचारी गएमा उसले दण्डित हुनुपर्छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएत थुप्रै निकायहरु छन । त्यसैले कुनै हाकिम आउदा यसलाई रोक्न तालाबन्दीमा कार्यकर्ता उतार्ने हो भने भिडले शासन गर्ने प्रचलन बढ्ने छ । भिडले शासन गर्ने प्रचलन बढेमा त्यहा भित्र कानुनी शासन हराउने निस्चित छ ।
शिविर भित्र गएर नगर सभाका एक जना सदस्य र कार्यपालिकाकै एक जना सदस्यहरुले भिड जम्मा गर्न अघिल्लो दिन कसरत गरिरहेको सूचना आएकै थियो । नगरको नेतृत्व गरिरहेको पार्टीले यस्ता गैरजिम्मेवार काम गर्दैन होला भनेर सोचियो तर जुन काम हुदैन भनेर सोचिएको थियो त्यहि काम भएछ ।
कुनै पनि स्थानियतहका कार्यकारी प्रमुखले नगर प्रमुख र उप प्रमुखको निर्देशनमा काम गर्नु पर्छ तर नेताहरुको निर्देशन कानुन अनुसार छैन भने सकिदैन भनेर उनिहरुले भन्न सक्नु पर्छ । जनप्रतिनिधिको काम निति बनाउने हो, निति अनुसार भएका निर्णय कार्यान्वयन गर्ने काम कर्मचारी संयन्त्रको हो । हाम्रो संविधान र ऐनले परिकल्पना गरेको विषय पनि यहि हो । ऐन अनुसार स्थानिय सरकारको प्रमुख कार्यकारी अधिकृत संघिय सरकारले सरुवा गरेर पठाउछ ।
आज कुनै हाकिम आयो वा गयो भने भिड जम्मा गर्ने कामको सुरुवात गरियो भने भोदि अर्को हाकिम आउनु हुदैन वा अहिलेकै हाकिम हुनुपर्छ भनेर अरु पार्टीले पनि भिड उतार्ने र नगरपालिकामा तालाबन्दी गर्न थाले भने नगरपालिकाको सेवा प्रबाह कस्तो हुन्छ ?नगरको नेतृत्व गरिरहेको मान्छेले यो कुरा पनि सोच्ने कि ?
त्यसैले नगरपालिकालाई राजनैतिक अखडाकोरुपमा विकास नगरौं । कानुन अनुसार चल्न दिनु पर्छ । कुनै कार्यालय प्रमुख बस्दा वा जाँदा केही फरक पर्दैन । हो कार्यालय प्रमुखलाई आफ्नो अनुसार चलाउन नसकिएला कि भन्ने पिर हो भने त्यो नेतृत्वको असक्षमता हो ।