मातृका तिमिल्सैना
पूर्व पश्चिम राज मार्गको कैलाली कर्णाली चिसापनीबाट निर्माणाधिन कर्णाली कोरीडोर पछ्याउदै हामी सोमवार मोहन्याल गाउ पालिकाको वार्ड नं.७ मा रहेको त्रिवेणीमा पुग्यौं । कैलालीको टीकापुरमा रहेको इश्वर प्रेमी सेवा आश्रमका पिठाधिस श्री १००८ महा मण्डलेश्वर इश्वर चैतन्यजी महाराजको नेतृत्वमा रहेको हाम्रो धार्मिक यात्रामा म लगायत वरिष्ठ पत्रकार भोजराज भाट, परामानन्द पाण्डे, आश्रमका महासचिव पुष्प बम र इन्जिनियर दिर्घ साँउद रहनु भएको थियो । करिब १५ दिन अघि बनेको योजना अनुसार हामी त्रिवेणी धाम स्नान तथा धार्मिक अवलोकनका क्रममा सो स्थान पुगेका थियौं ।
पूर्वपश्चिम राजमार्गबाट करिब ११ किलो मिटर ढुँगा सहितको धुलाम्य बाटो पार गरेपछि भेरी, कर्णाली र बादे खोलाको संगम त्रिवेणी पुग्न सकिन्छ । प्राकृतिक रुपमा रुपमा सुन्दर सो स्थान धार्मिकरुपमा समेत महत्वपूर्ण छ । समुन्द्री सतहाकबाट ३९६२ मिटर उचाँईमा रहेको तिब्बतको माच्चोचोङ्गो हिमनदिबाट बग्दै आउदा कैलास मान सरोवरको पवित्र जल समेत लिएर आएकी कर्णाली गंगा त्रिवेणीमा पुग्दा छायानाथ, पादुका लगाएतका पवित्र धार्मिक स्थलको जलबाहक बनेकी, सानी भेरी ठूली भेरी र उत्तरगँगा समेत मिलाएर बग्ने भेरी नदिसँगको मिलन अनुपम छ । कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको कैलालीको पूर्वि चुरे क्षेत्रको महोल्याल ७ बडिगाँउमा रहेको सो क्षेत्र सरकारी लगानीको पर्खाईमा रहेको छ ।
त्रिवेणीलाई विकास गर्नका लागि स्थानिय सरकार, जनप्रतिनिधि र सरोकारवाला सबैले भारतमा गंगा सभ्याताको सरकारी स्तरबाट कसरी विकास भएको छ भनेर अध्यान गर्न जरुरी छ । यति पवित्र स्थानमा स्नान गर्नका लागि सरकारी स्तरबाट कुनै लगानी हुन सकेको छैन ।
पछिल्लो पटक त्यहाका स्थानियवासीहरुमा सो ठाउलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तब्य बनाउन इच्छा शक्ति देखिन्छ । हामी पुग्दा स्थानियहरुले खुलेर कुरा गरे । उनीहरुमा सो ठाउ निर्माणका लागि प्रतिबद्धता देखियो ।
त्रिवेणी धाममा कैलाली तर्फ संरचनाका नाममा एउटा सानो शिवालय देखिन्छ । सो शिवालय २०७० मा स्थानिय सामुदायिक बन र स्थानियवासीको लगानीमा बनेको र त्यसको २÷३ वर्ष पछि पण्डित नारायण तिमिल्सैना प्रमुख बाचक बनेर ७ दिने सप्तरुद्री लगाएको स्थानियवासीहरु बताउछन ।
सो स्थानमा रुद्राक्ष राम्रो फल्छ । रक्त चन्दन पनि राम्रो हुने रहेछ । नजिकै रहेको एक सामुदायिक वनलाई धार्मिक बन बनाएर रुद्राक्ष, रक्त चन्दन लगाएतका धार्मिक महत्वका बिरुवाहरु लगाउन सकिन्छ ।
सो ठाउलाई निर्माण गर्नका लागि त्रिवेणी धाम निर्माण र विकासको दिर्घकालिन योजना बनाएर सोही योजना अनुसार प्रत्यक वर्ष संरचना निर्माण र प्रचारका कामहरु गर्नु पर्ने देखिन्छ । बृहत त्रिवेणी धाम निर्माणको योजना निर्माण गर्नका लागि स्थानियवासिहरु पत्पर नै देखिन्छन । सो ठाउमा माघी, नयाँ वर्ष लगाएत अन्य बेला समेत स्नान तर्पणका लागि मानिसहरु आउने गरेका छन । तर अहिले सम्म स्थान, श्राद्ध र तर्पणका लागि ठाउ नै बनाइएको छैन ।
पछिल्लो पटक सो ठाउमा पुग्नका लागि चिसापानी देखि बडिगाँउ सम्मको बाटो कालापत्रे हुदैछ । सो स्थानको ६ किलो मिटर भित्र कैलाली र सुर्खेतमा कर्णाली नदिमा २ र भेरी नदिमा १ गरी ३ वटा पक्कि पुल निर्माण सम्पन्न भैसकेका छन । ति ३ वटा पुलको क्षेत्रलाई समेत धामिृक मार्ग बनाउन सकिने प्रयाप्त सम्भाना छ । सुर्खेतबाट आएर कर्णालीमा मिसिएको भेरी गंगाको दुबै किनारामा धार्मिक महत्वका मन्दिरहरु निर्माण गरिएका छन ।
सुर्खेतको चौकुने गाउपालिका वार्ड नं. १० घाटगाँउमा मन्दिर सहति करिब ४ बिगाहा जमिनमा पूर्णधार निर्माण भैसेको छन । यस्तै सुर्खेतकै पञ्चपुरी नगरपालिका वार्ड नं.११ मा समेत मन्दिर बनाइएको छ । यता कैलालीमा भने भेरी नदी, कर्णाली नदी र बादे खोलाको संगम त्रिवेणी धाम बनाउन सरकारले कुनै चाँसो दिएको देखिदैन ।
सो ठाँउको सम्भाव्यतालाई हेर्दा भारतको गंगा ऋषिकेश जस्तै बनाउन सकिन्छ । सो ठाउमा धाम निर्माण गर्ने, गुरुकुल स्थापना गर्ने दैनिक रुद्राभिशेक गर्ने र महायज्ञ गरेर दैनिक आरति गर्ने गरिए सो ठाउमा नेपालका मात्रै होइन भारतबाट समेत तिर्थालु भक्तजन आउन सक्ने देखिन्छ । कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरबाट समेत करिब ५०÷६० किलो मिटर दुरीमा रहेको सो स्थान वास्तवमा नै अनुपम देखिन्छ ।
भेरी र कर्णालीको संगम भएर मात्र होइन प्रकृतिको सुन्दर सगम समेत रहेको छ त्यहाँ । हाम्रो टोलीले सो तिर्थ स्थललाई नजिकैको उच्च स्थान आख्रेकोटबाट समेत अबलोकन गर्यो । ओख्रेकोटलाई समेत ध्यान केन्द्र बनाएर कर्णाली त्रिवेणीमा स्नान, ओख्रेकोटमा ध्यान केन्द्र र धर्मशाला समेत बनाउन सकिने सम्भावना छ ।
हामीले सो ठाउका वडाध्यक्ष नवराज कठायत र मोहन्याल गाँउ पालिकाका उपाध्यक्ष कमल साँउद सँग समेत भेट्दा उहाँहरु आफ्नो ठाउको विकासका लागि उत्सुकभएको पायौं । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल शाहको निर्वाचन क्षेत्र समेत रहेको बडिगाँउको त्रिवेणी आगामी दिनमा यसरी नै आझेलमा पर्छ वा विकासको नयाँ गति समात्छ अहिल्यै भन्न सकिदैन तर यति निश्चित भन्न सकिन्छ नेतृत्वले इच्छाशक्ति देखाएमा त्रिवेणी धामलाई नेपाल र भारतका हिन्दु धर्माबलम्बीहरुको आश्थाको धरोहर ऋषिकेश जस्तै बनाएर विकास गर्ने सकिन्छ । जय शम्भो
प्रतिक्रियाहरु