बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • धनगढीमा “सूर्य युग”को विमोचन
समाचार

धनगढीमा “सूर्य युग”को विमोचन

धनगढी ३० जेठ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले ) सुदूरपश्चिम प्रदेश कमिटीको मुखपत्र सूर्ययुगको आज कैलालीको धनगढीमा विमोचन गरिएको छ ।

विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले नेकपा एमाले सुदूर पश्चिममा आफ्नो मुखपत्र प्रकाशन गरेर ऐतिहासिक कामको सुरुवात गरेको बताउनु भयो ।

उहाँले यसले पार्टीका गतिविधि हरू कार्यकर्ता सम्म र जनतासम्म लैजान सहयोग पुग्ने बताउँदै पार्टीको प्रचारको योजनालाई तीव्र गतिमा अगाडि बढाउन पार्टीको प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिनुभयो ।

उहाँले २०८४ को निर्वाचनमा नेकपा एमालेले विजय हासिल गर्नका निम्ति आवश्यक प्रचार रणनीतिहरू तय गर्दै अगाडि बढ्न आग्रह समेत गर्नुभयो।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य झपट बोहराले पार्टी प्रदेश कमिटीको आफ्नै मुखपत्र भएपछि अब पार्टीका गतिविधिले समाचारका रुपमा स्थान पाउने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका पहिलो आर्थिक मामला मन्त्री समेत रहेका बोहराले वर्तमान सरकारले ल्याएको बजेट लाई निजी क्षेत्रले ऐतिहासिक बजेट भनेर समर्थन गरिरहेको अवस्थामा यसलाई जनताका बीचमा लैजानुपर्ने बताउनुभयो ।

बोहोराले सुदूरपश्चिम प्रदेश सरकारले समेत अर्थविदहरूसँग बसेर बजेटका सन्दर्भमा परामर्श गर्नुपर्ने आवश्यकता ल्याउनुभयो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद भट्टराईले आगामी दिनमा प्रचारका योजनाहरूलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न विभागलाई आग्रह गर्नुभयो ।

पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले प्रचार विभागको अथक मेहनतले सूर्ययुग प्रकाशन सुरु भएको बताउँदै यसलाई नियमित ढङ्गले अगाडि बढाउन समेत आग्रह गर्नुभयो।

अध्यक्षताको आसनबाट बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख भागरथी बिष्टले प्रचार विभागले दुई दिने प्रचार कार्यशाला गोष्ठी गरेर त्यसबाट बनेको योजनालाई कार्यान्वयन गर्दै अगाडि बढेको बताउनुभयो।

उहाँले कार्यशाला गोष्ठीबाट बनेको योजना का बाँकी कामहरू समेत विभागले सुरु गर्दै जाने बताउनुभयो।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख तथा प्रकाशन उपसमितिका संयोजक मातृका तिमेलसेनाले प्रचार विभागले आगामी असार मसान्तसम्म पार्टीको आफ्नै न्युज अनलाइन समेत सञ्चालन गरिसक्ने बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै पछिल्लोपटक प्रचार शैलीहरू बदलिएको बताउँदै पार्टीले आफ्ना प्रचार गतिविधिलाई समेत बदलिएको प्रविधिसँग संयोजन गरेर अगाडि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सञ्चालन नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव भोजराज जोशीले गर्नुभएको थियो।

 

 

 

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस