छपिलाल चौधरी
स्थानीय सभाको समिक्षा
टीकापुर÷ ‘नगरपालिकाको बजेट मेयर र उपमेयरको व्यक्तिगत सम्पत्ति होइन । जनताबाट उठेको कर, प्रदेश र संघबाट आएको जम्मा भएको हो । बजेटको बाँडफाँटमा वडाका जनप्रतिनिधि जस्तै सभाबाट पछि निर्वाचत भएर आउने कार्यपालिका सदस्यको भुमिका हुनुपर्छ, मेयरको यति उपमेयरको यति भनेर बाँडन तपाईहरुको व्यक्तिगत सम्पत्ति होइन । तपाईले एक्लै आर्जन गरेको सम्पत्ति होइन यो जनताको कर र स्रोतबाट आर्जन भएको सम्पत्ति हो त्यसैले साझा सम्पत्तिमा सबैको हक बराबर लाग्नुपर्छ’ टीकापुर नगर पालिकाको २०८० असार ८ गतेको १३औं नगर सभामा पहिलो पटक बोल्दै कार्यापालिका सदस्य मञ्जु विकले भनेकी थिइन, ‘मेयर र उपमेयरबीच नगर सभामै जुहारी चल्दा नगर सभाको मर्यादा भंग भएको महसुस भएको छ भने नगरसभा सदस्यको कुनै भुमिका नभएको जस्तो आभास भएको छ तपाईहरु दुई जनाले गरेर मात्रै हुनेभए दुइजनाले मात्रै गर्नुस हामी बाहिर जान्छौ ।’
वि. सं. २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि टीकापुर नगरपालिकामा २०७९ असार १० मा एघारौं र माघ २४ मा बाह्रौ नगर सभा अधिवेशन भएका थिए । यी दुवै अधिवेशनमा कुनै महिलाले सभाको रोष्टममा उक्लिएर बिचार राख्ने आँट गरेका थिएनन् । ‘तपाईहरु कै भोट पाएर आएको जनप्रतिनिधिहरुलाई यसरी हेप्नुहुन्छ भने सामान्य नागरिकहरुलाई कस्तो व्यवहार गर्नुहुन्छ होला ?’ पहिलो पटक नगर प्रमुख र उपप्रमुखलाई प्रश्न गर्दै कार्यपालिका सदस्य मञ्जु विकले भन्नुभएको थियो, ‘तीनवटा नगरसभा भैसक्यो तपाईहरु लड्दै हुनुहुन्छ कसरी काम गर्नुहुन्छ ?’
निर्वाचित भएर आएपछि टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खडकबहादुर शाहबीच मनमुटाव थियो तर दुबै जनाको सहमतिमा एघारौं र बाह्रौ सभा फटाफट सकेका थिए । कार्यपालिका सदस्य मञ्जु विकले तेह्रौं सभामा त्यसैको आक्रोश पोखेकी थिइन् ।
तेह्रो सभामा एक्लै महिला बोले पनि चौधौं नगर सभामा पभने अरु सदस्य महिलाहरुले निर्धक्कसँग आफ्ना कुराहरु राखेका थिए । संयोग, बोल्ने सदस्य महिलाहरु सबै दलित थिए । छलफलमा सहभागी हुदै कमलादेवी बिकले नगरपालिकाले बनाउने कानुनहरु विधायन समितिका सदस्यहरुले हस्ताक्षर मात्रै गर्नुपरेको तर कानुनको मूल मर्मबारे अनभिज्ञ रहेको बताएकी थिइन । कार्यपालिका सदस्यहरु भएका समितिहरु सक्रीय भएका र वडा सदस्यहरुको नेतृत्वमा भएका समितिहरु नाममात्र का भएका र तालिम पनि नपाएको सदस्य कमलादेवी विकको भनाई थियो । सभामा दोहो¥याएर बोल्दै विकले दुई वर्ष बितिसक्दा पनि दलित महिलाका सवालमा कार्यपालिका गम्भीर नभएको र राज्यले खर्च गरिरहेका वडा सदस्यहरुलाई काममा नलगाएको गुनासो पनि गरेकी थिइन ।
अर्का वडा सदस्य तुलसा विकले पदमा पु¥याए पनि काम गर्ने बाटो पाउन नसकेकोले नगरपालिकाले क्षमता विकास र काम गर्ने बाटो देखाइ दिनुपर्ने माग राखिन् । यही सभामा सदस्य रुपमति डंगौराले टीकापुर नगरपालिका विनियोजित ऐन २०८० संशोधित प्रस्ताव पेश गरिन भने यही बैठकमा लेखा समिति संयोजक सङ्गिता विकले यस अघि जानकारी नपाएर सक्रीय हुन नसके पनि अब सक्रीय भएर भूािका निर्वाह गर्ने वचनवद्धता गरिन् । चौधौं सभामा चार जना महिला सदस्य बोलेपछि त्यस यताका सभालाई निरन्तर दलित महिलाहरुले उपयोग गर्दै आएका छन् ।
२०८१ असारमा भएको १५औ नगरसभामा पनि तीन जना दलित महिलाले पालैपालो बोलेका थिए । सभाका सदस्य कमलादेवी बिकले सभामा पेश भएको नीति तथा कार्यक्रम सुन्दासुन्दै बुझ्न नसकिएकाले यस्तै पारित गर्न नहुने प्रस्ताव राखेकी थिइन । यस्तै विधायन समिति गठन भएको दुई वर्ष पूरा भए पनि सदस्यको क्षमता विकासको तालिम नपाएको र नाम मात्रको समितिले बनाएका कानुन पास भैरहेका दोहो¥याइन ।
२०८१ पुसमा भएको सोह्रौ नगरसभामा सदस्य कमलादेवी विकले नगर सभा कम्तिमा तीन दिन चल्नुपर्ने माग गरिन् । ‘पहिला एकै दिनमा नीति, कार्यक्रम, बजेट पास हुन्थ्यो अहिने दुई दिनको भएको छ । अब नगरसभा ३ दिनको हुनुपर्छ,’ विकले भनिन, ‘आफ्नो कमी कमजोरी आफैले औल्याउनु छ क्षमता विकासको तालिम पारित भयो तर बजेट विनियोजन भएन, एउटा वडा एक भेटेरिनरी प्राविधिक भन्ने नीति मेरो वडामा कार्यान्वयन भएन, नीति सोचेर ल्याइयोस नीति अनुसार काम होस ।’
२०८२ असार २ मा भएको सत्रौ नगरसभामा पनि सदस्य कमलादेवी विकले सभाध्यक्षलाई औला ठड्याइन । ‘संघबाट आएको बजेट सभाध्यक्ष (नगरप्रमुख)ज्युले आफ्नो मनोमानी ढंगले वितरण गर्नुभएको छ यसमा सम्पूर्ण नगरपालिकाको हक लाग्ने होइन र ? यसमा ध्यानाकर्षण होस अबदेखि मनोमानी ढंगले बजेट बाँडफाँड नगर्नुहोला’ विकले भनिन्, ‘बजेटको सिलिंङ र संघ र प्रदेशको बजेट कहाँ कसरी विनियोजन भएको छ भनेर अध्ययनको लागि कम्तिमा ३ दिनको समय दिनुपर्छ ।’ यही बैठकमा सदस्य तुलसादेवी विकले पनि २५५ वटा नीति बनाएकोमा सबै नीतिहरु बजेटले सम्वोधन हुनुपर्ने सुझाव दिइन् ।
नगरसभा समापनका क्रममा पनि सदस्य कमलादेवी विकले नीति २० वर्षलाई पुग्ने गरी आए पनि बाँकी दुई वर्षमा धेरै नसके पनि सभाहल आफ्नै बनाउन सुझाव दिएकी थिइन । टीकापुर नगरपालिकाको सभा टीकापुर बहुप्राविधिक शिक्षालयमा हुने गरेको छ ।
टीकापुर नगरपालिकामा सभाले पारित गरेको करोडौं बजेट नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर हेराफेरि गरेको भन्दै वि.सं. २०८० असार ५ गते कार्यपालिकाका ११ जना सदस्यले विज्ञप्ती जारी गरेर सचेत गराएका थिए । हेराफेरि गर्दा सभाले छुट्टयाएका केही महिला लक्षित योजना पनि संशोधनमा परेका थिए ।
स्थानीय सरकारमा महिला पुरुष बीच सन्तुलन कायम होस भनी निर्वाचन कानुनले प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरे पनि टीकापुर नगरपालिका निर्वाचनमा दुई दलको गठबन्धनका कारण दुवै पदमा पुरुष निर्वाचित भएका थिए । त्यसैमा पनि उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला काण्डमा मुछिएपछि नगरपालिकामा पदीय असन्तुलन भइ झन समस्या भैरहेको छ ।
‘सभाका सदस्य महिलाहरुले बोलेको सुन्ने पद उपप्रमुख हो, उपप्रमुखलाई परिभाषित रुपमै महिला, बालबालिका क्षेत्रको जिम्मेवारी पनि धैरै छ,’ टीकापुर नगरपालिकाका पुर्व उपप्रमुख केशरी रावल विष्ट भन्छिन् ‘शुरुशुरुमा अल्मलिएका सभाका सदस्य महिलाहरु पछिल्लो पटक जुर्मुराएका र सभामा आवाज सुनाउन सक्ने भएका छन् यसमा अझ दलित महिला अगाडि छन् ।’
क्याप्सनः टीकापुर नगरपालिकाको नगरसभा अधिवेशनमा बोल्दै कार्यपालिका सदस्य मञ्जु विक । तस्बिर छपिलाल चौधरी
प्रतिक्रियाहरु