टीकापुर, कैलाली ,
जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोग तथा टीकापुर नगरपालिकाको समन्वयमा टीकापुर योगाश्रम परिसरमा आधुनिक आउटडोर जिम आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै योग, ध्यान र आधुनिक शारीरिक व्यायामलाई एउटै स्थानबाट प्रवर्द्धन गर्ने योगाश्रमको अभियानले नयाँ आयाम प्राप्त गरेको छ।
टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले एक कार्यक्रमका बीच आउटडोर जिमको उद्घाटन गर्नुभएको हो।
योग, ध्यान तथा नियमित अभ्यासमार्फत समाजलाई निरोगी, स्वस्थ र अनुशासित बनाउने उद्देश्यका साथ सक्रिय रहेको टीकापुर योगाश्रमको योगदानलाई मूल्याङ्कन गर्दै जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आउटडोर जिमका लागि आवश्यक आधुनिक उपकरण उपलब्ध गराएको हो।
हस्तान्तरण विवरणअनुसार योगाश्रममा डबल क्रस वाकर, एयर वाकर, ट्विस्टर, स्ट्यान्डिङ ट्विस्ट ट्रिपल, डबल ओपन जिम इलिप्टिकल ट्रेनर, लेग प्रेस डबल, आउटडोर साइकल तथा पुल–अप/डिप स्टेशन लगायतका आधुनिक व्यायाम उपकरण जडान गरिएको छ। यी उपकरणमार्फत बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिले खुला वातावरणमै निःशुल्क शारीरिक व्यायाम गर्न सक्नेछन्।
योगाश्रमका संस्थापक अध्यक्ष पृथ्वी रावल “पृथ्वी श्री” ले करिब ४० वर्षअघि परिकल्पना गर्नुभएको टीकापुर योगाश्रम अहिले क्रमशः पूर्णता प्राप्त गर्दै नयाँ–नयाँ पूर्वाधार र सुविधासहित अझ बृहत्तर रूपमा विकास हुँदै गएको छ। योग, ध्यान, प्राकृतिक उपचार र स्वस्थ जीवनशैली प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेको योगाश्रममा आधुनिक आउटडोर जिम थपिएसँगै यसको सेवा र प्रभावकारिता अझ विस्तार हुने विश्वास गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीबाट उक्त आउटडोर जिम स्थापना तथा उपकरण जडानका लागि कुल ८ लाख ९७ हजार ९०८ रुपैयाँ बजेट खर्च गरिएको छ। यस योजनाले टीकापुर क्षेत्रका नागरिकलाई नियमित व्यायामको सहज पहुँच उपलब्ध गराउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपालकै सबैभन्दा ठूलो तथा व्यवस्थित योगाश्रममध्ये एकका रूपमा परिचित टीकापुर योगाश्रममा आधुनिक आउटडोर जिम सञ्चालनमा आएपछि योग अभ्याससँगै शारीरिक तन्दुरुस्तीका लागि आवश्यक व्यायाम गर्ने सुविधा पनि थपिएको छ। स्थानीयवासीले यसलाई टीकापुरको स्वास्थ्य प्रवर्द्धन अभियानमा महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्।
प्रतिक्रियाहरु