बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • ओलीको हस्तक्षेपप्रति लेखराज भट्ट असन्तुष्ट, एमाले छाड्नेबारे छलफल
Breaking News

ओलीको हस्तक्षेपप्रति लेखराज भट्ट असन्तुष्ट, एमाले छाड्नेबारे छलफल

टीकापुर २० असोज ।

नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन्। सुदूरपश्चिम प्रदेशका राजनीतिक तथा प्रशासनिक विषयमा केन्द्रबाट भइरहेको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीमा बसिरहनुको औचित्यमाथि समेत प्रश्न उठाउन थालेका छन्।
भट्टनिकट नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका नियुक्ति, पार्टी जिम्मेवारी तथा राजनीतिक निर्णयमा प्रदेशका नेताहरूसँग पर्याप्त समन्वय नभएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन्।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र हमालको विषयले भट्ट र ओलीबीचको असन्तुष्टि थप बढाएको बताइएको छ। सरुवा भइसकेका सचिवलाई पुनः सोही जिम्मेवारीमा राख्न नहुने पक्षमा भट्टसहित प्रदेशका अधिकांश नेता रहे पनि ओलीले मुख्यमन्त्री खगराज भट्टलाई फोन गरेर सचिवलाई सोही जिम्मेवारीमा राख्न निर्देशन दिएको स्रोतको दाबी छ।
यसअघि प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्तिका क्रममा पनि केन्द्रबाट पर्याप्त समन्वय नभएको भट्ट पक्षको गुनासो थियो।
भट्टले आफ्नो असन्तुष्टिबारे एमालेका उपाध्यक्ष पीएस गुरुङ, महासचिव शंकर पोखरेल र सचिव भानुभक्त ढकाललगायत नेताहरूसँग कुराकानी गरेको बताइएको छ। अध्यक्ष ओलीका स्वकीय सचिव निरु पालसँग समेत उनले पार्टीभित्र आफूले भोगिरहेको अवस्थाबारे असन्तुष्टि राखेका थिए।
भट्टको असन्तुष्टि गम्भीर बनेपछि एमालेका केही शीर्ष नेताले अध्यक्ष ओलीलाई उनीसँग संवाद गर्न आग्रह गरेका थिए। त्यसपछि भानुभक्त ढकालको फोनबाट ओली र भट्टबीच करिब १५ मिनेट कुराकानी भएको बताइएको छ।
कुराकानीमा ओलीले देखिएका असमझदारीबारे प्रस्ट पार्ने प्रयास गरे पनि भट्ट सन्तुष्ट हुन नसकेको उनीनिकट स्रोतको भनाइ छ।
भट्टले तत्कालै पार्टी छाड्ने निर्णय भने गरिसकेका छैनन्। तर, यही अवस्था कायम रहे एमालेमा बसिरहनुको औचित्य नरहेको भन्दै आफू निकटका नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।
‘अहिल्यै पार्टी छोड्छु त भन्दिनँ। तर, यही अवस्थाले पार्टीभित्र बस्नुको औचित्य छैन भन्ने लाग्छ,’ भट्टले एकजना पत्रकारलाई बताउनुभयो, ‘पटक–पटक अपमानित भएको महसुस भएको छ। पार्टी जोगाउन मैले गरेको भूमिकाको मूल्यांकन नगरी सामान्य विषयमा पनि अवमूल्यन गर्नु उपयुक्त होइन।’
यस विषयमा केन्द्रका केही नेताहरूसँग कुराकानी भइरहेको जानकारी दिँदै भट्टले केही दिनभित्रै विषयको टुंगो लाग्ने बताउनुभयो।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस