काठमाडौं, असोज ४। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि नेता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव अस्वीकार गर्दै छुट्टै प्रतिवेदन तयार पारेका छन्।
अध्यक्ष ओलीको निर्देशनमा तयार गरिएको २९ पृष्ठ लामो प्रतिवेदन कार्यदलका सदस्यहरूलाई शनिबार नै पठाइएको जनाइएको छ। आइतबार बिहान बस्ने कार्यदल बैठकमा छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने वा वैधानिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्नुपर्ने विषय समेटिएको थियो। तर ज्ञवालीको प्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी उक्त निष्कर्षलाई अस्वीकार गरिएको छ।
ज्ञवालीले २०७१ सालको नवौं महाधिवेशनपछि ओली नेतृत्वमा एमालेले गरेका कामको प्रशंसा गर्दै पछिल्लो निर्वाचनको परिणाम व्यक्ति विशेषको कमजोरीका कारण मात्र आएको निष्कर्ष प्रस्तुत गरेका छन्। उनका अनुसार निर्वाचन परिणाममा विभिन्न राजनीतिक, सामाजिक र बाह्य परिस्थितिको समेत प्रभाव परेको छ।
प्रतिवेदनमा एमाले पराजित भए पनि समाप्त नभएको उल्लेख गर्दै वैचारिक–राजनीतिक प्रशिक्षण, सांगठानिक सुधार र एकताबद्ध प्रयासबाट पार्टीलाई पुनःस्थापित गर्न सकिने दाबी गरिएको छ।
ज्ञवालीले नेतृत्व परिवर्तनको प्रश्न पार्टीभित्र उठेको स्वीकार गरे पनि त्यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाट भइसकेको तर्क गरेका छन्। त्यसैले निर्वाचन परिणामका आधारमा तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने कार्यकर्ताको सुझावलाई उनले स्वीकार गरेका छैनन्।
निर्वाचनमा एमालेले व्यहोरेको हारलाई भने उनले इतिहासकै ठूलो पराजयका रूपमा स्वीकार गरेका छन्। यसको कारणमा सांगठानिक कमजोरी, आन्तरिक एकताको अभाव, युवा पुस्तासँगको दूरीलगायत विषयसँगै बाह्य प्रभाव र सामाजिक सञ्जालको ‘अल्गोरिदम’लाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।
ज्ञवालीले ओलीको नेतृत्वमै पार्टी सुधार सम्भव रहेको निष्कर्षसहित वैचारिक, राजनीतिक तथा सांगठानिक पुनर्गठनमा जोड दिएका छन्।
प्रतिक्रियाहरु