नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण अफ्रिकाका कलाकारहरूले विशेष गीत सार्वजनिक गरेका छन्। दक्षिण अफ्रिकाका बहुप्रतिभाशाली संगीतकर्मी देशान ‘स्टाइलर’ नायडूसहित तीन गायकले नेपालका बाढीपीडितप्रति समर्पित गीत प्रस्तुत गरेका हुन्।
हजारौं किलोमिटर टाढा रहेर पनि नेपालका दाजुभाइ–दिदीबहिनीको पीडा र दुःखलाई आफ्नो ठानी दक्षिण अफ्रिकाबाट गरिएको यो सांगीतिक पहलले मानवीय संवेदना र अन्तर्राष्ट्रिय सद्भावको सन्देश दिएको छ।
गीतले बाढीबाट प्रभावित नेपालीको पीडा, आशा र पुनःस्थापनाको भावनालाई संगीतमार्फत अभिव्यक्त गरेको बताइएको छ। दक्षिण अफ्रिकामा गीतले चर्चा पाउन थालेको र नेपाली समुदायसहित स्थानीय नागरिकमाझ पनि नेपालप्रति सहानुभूति र सहयोगको भावना बढिरहेको जनाइएको छ।
दक्षिण अफ्रिकामा रहेका गैरआवासीय नेपालीसँग सम्बद्ध विभिन्न व्यक्तिहरूले नेपालका बाढीपीडितको सहयोगका लागि अभियान सञ्चालन गरिरहेका बेला तीन गायकले यो गीतमार्फत सांगीतिक साथ दिएका हुन्।
दक्षिण अफ्रिकामा रहेका नेपाली तथा स्थानीय नागरिकको तर्फबाट पनि नेपालका बाढीपीडितलाई सहयोग गर्ने अभियान सुरु भएको त्यहाँबाट हिक्मत थापाले जानकारी दिनुभएको छ।
भाषा, भूगोल र दूरीको सीमा नाघेर संगीतमार्फत व्यक्त भएको यो ऐक्यबद्धताले नेपालका बाढीपीडितप्रति दक्षिण अफ्रिकाको नेपाली समुदाय तथा त्यहाँका नागरिकको मानवीय संवेदना र सद्भावलाई उजागर गरेको छ।
नेपालका बाढीपीडितप्रति सांगीतिक ऐक्यबद्धता जनाउने कलाकारहरूलाई नेपाली समुदायले धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ।
संगीतको कुनै सीमा हुँदैन, दुःखको भाषा पनि एउटै हुन्छ—दक्षिण अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि उठेको यो सांगीतिक स्वरले फेरि एकपटक विश्वभरका मानिसलाई मानवीय भावनाले जोड्ने सन्देश दिएको छ।
प्रतिक्रियाहरु