मातृका तिमिल्सिना
सुदूरपश्चिमका थुप्रै विकासका बृहत सपना मध्येको एउटा १०००० मेगावाटको जलाशययुक्त कर्णाली बहुउद्देश्य जलविद्युत आयोजना हो।
सरकारले एक दुई वर्ष अगाडिसम्म समेत बजेटमा यसलाई सुदूरपश्चिम बासीलाई “काउकुती” लाग्ने गरी यसलाई सम्झाइरहन्थ्यो । कहिले नेपाल भारत चीन त्रिदेशीय आयोजनाका रूपमा निर्माण गर्ने भनेर भाषण आउँथ्यो।
कहिले सरकार र जनताको लगानीमा बनाउने र उत्पादित विद्युत बङ्गलादेशलाई बेच्ने भनेर बजेटमा कुरा आउँथ्यो। तर यसपटक बजेटले सुदूरपश्चिम बासीको यो सपनालाई सम्झिन समेत छोड्यो।
करिब २५-३० वर्ष अगाडिका बजेटमा समेत यो आयोजनालाई सरकारले सम्झिन्थ्यो ।
वर्षको एकपटक अध्ययन गर्ने नाममा केही मान्छे आउँथे, बन्छ कि भन्ने हुन्थ्यो । छुट्याएको एक दुई करोड आउने जानेहरूले बाँटेर खान्थे, कति बजेट फ्रिज हुन्थ्यो ।
हुन त सुदूरपश्चिमका मान्छेहरूलाई काठमाडौँले भनेका कुरा विश्वास लाग्न छोडिसकेको छ । काठमाडौँले छुट्याउने बजेट सुदूरपश्चिम नपुग्दै ठूलो हिस्सा फ्रिज हुन्छ। कार्यान्वयन हुँदैन । एउटा कर्णाली नदीमा पुल बनिसकेपछि पूर्वपश्चिम राजमार्गले छोएको हो। सुदूरपश्चिमलाई । अहिले पनि सरकारले पूर्वबाट पूर्व पश्चिम महेन्द्र राजमार्ग फोरल्यान्ड बनाउने काम सुरु गर्यो। अरुतिरका बाटा फोरल्यान्ड बनेर गाडी कुद्न थालिसके। सुदूरपश्चिमको कर्णाली चिसापानी गड्डा चौकी खण्डको बाटो यसपटक समेत अध्ययन सम्पन्न गर्नेछौँ भन्ने बजेटमा आएको छ। प्रकृतिले पो पश्चिमा सूर्यलाई उदाउन दिँदैन, के विकास पश्चिमबाट सुरु गर्दा आकाश खस्छ र ? सरकारको धारणामा परिवर्तन पाउन सकेन सुदूरपश्चिमले । कम्तिमा सुदूरपश्चिम प्रतिको धारणा बदलिनुपर्छ सरकार ।
हुन त सुदूरपश्चिम बासीलाई सरकारले भनेका सबै कुरा विश्वास नगर्ने बानी नै बनिसकेको छ।
तैपनि यसपटक धनगढीदेखि बाजुरासम्मको चुनावी दौडाहा गरेका बालेन शाह ले डडेलधुराको भिर नजिकैको बाटोबाट एउटा हरफ सामाजिक सञ्जालमा लेखेका थिए ” सुदूर अबदुर नाई …… । झिक्कै झिक्कै माया तलाई … । उनले कर्णाली पुगेर पनि यस्तै आशयको अर्को शब्द सामाजिक सञ्जालमा लेखेका थिए। “कर्णालीका सपना …… हाम्मा सपना …..।
तिमी मेरो हौ भनेर मुखले बोलेर हुँदैन। व्यवहारले आफ्नोपन देखाउन सक्नुपर्छ। यसपटकको बजेटमा सुदूरपश्चिमलाई सरकारले फेरि पनि आफ्नोपन देखाउन सकेन। न त “कर्णालीका सपना …..हाम्मा सपना…..” बने ।
२०६४ को परिवर्तनपछि ६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला नेपालको विकासको ढोका खोल्ने भनेर दक्षिण भारत जोड्ने खक्रौला टीकापुरदेखि उत्तरी चीनको सिमाना ताक्लाकोट जोड्ने सडक सेती लोकमार्गको नाममा बजेट विनियोजन भएको थियो। टिकापुरदेखि ताक्लाकोटसम्मको करिब ३०० किलोमिटर उत्तर दक्षिण जोड्ने सो बाटोले भारत नेपाल छिन् आवागम सुगम मात्रै बनाउँदैनथ्यो, त्रिदेशीय व्यापारको हब बन्न सक्थ्यो सुदूरपश्चिम ! तर सूर्य सधैँ पूर्वबाट उदाउँछ भन्ने प्राकृतिक मान्यताबाट ग्रस्त शासकहरूले विकास पश्चिमबाट पनि उदाउन सक्छ भन्ने मानसिकताको विकास कहिले गर्न सकेनन् । पुरानाले गरेनन् भनेर उत्पात विरोध गरेर आएकाहरू ले ल्याएको बजेटमा सेती लोकमार्गको कुरा उल्लेखै नहुनु, पर्याप्त बजेट विनियोजन हुन नसक्नुले सुदूरलाई अहिलेको सरकारले समेत “दूर…..” नै सम्झ्यो भन्ने व्यवहारबाट पुष्टि भयो। कर्णालीका सपना ….. काठमाडौँका सपना बन्न सकेनन् भन्ने कुरा पुष्टि भयो।
सुदूरपश्चिम बासीलाई अब अलमल्याउनु पर्दैन , राष्ट्रिय स्वतन्त्र पार्टीकै नेता र सांसदहरूले ठूलो महत्वका साथ उठाएको चिसापानी कर्णाली जङ्गलघाट मङ्गलसेन सडक बजेटमा नाम उल्लेख भएन। सेती लोकमार्ग जसले सुदूरपश्चिमको भाग्य बदल्न सक्थ्यो। त्यो बजेटमा उल्लेख भएन। कुनै औद्योगिक कोरिडोर र सुदूरपश्चिममा उद्योग खोल्नेहरूका निम्ति विशेष सब्सिटीको घोषणा सरकारले गर्छ कि भन्ने अपेक्षा थियो सुदूरपश्चिम बासीसँग त्यो अपेक्षा अधुरै रह्यो ।
सबैभन्दा ठूलो सुदूरपश्चिममा रोजगारी र विकासको क्रान्ति ल्याउन सक्ने १० हजार मेगावाटको कर्णाली जलविद्युत आयोजना यसपटकको बजेटमा नाम पनि उल्लेख भएन। कसले बनाउने होला यो आयोजना ! जुन आयोजना सुदूरपश्चिमको विकासको मोडेल परिवर्तन गर्ने आयोजना हो।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको जल्दो बल्दो सरकारले सुदूरपश्चिमलाई के दिन्छ भनेर विग्रतापूर्वक सुदूरपश्चिमले हेरिरहेको थियो। सो पार्टीको घोषणापत्रमा आगामी १० वर्षभित्र ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेपछि यो १० हजार मेगावाट क्षमताको कर्णाली जलाशययुक्त विद्युत आयोजना त अवश्य पर्छ होला भन्ने ठूलो अपेक्षा थियो। तर जनताको भावनामा तुसारा पात भयो । सरकारको बजेटले सुदूरपश्चिमलाई यस वर्ष “काउकुती” समेत लगाउन सकेन ।
प्रतिक्रियाहरु