टीकापुर, २३ जेठ
सपना देख्ने विद्यार्थीहरूलाई अब प्रविधि, विज्ञान र अन्तरिक्षको संसारसँग जोड्ने महत्वपूर्ण अभियान टीकापुरमा सुरु भएको छ। टीकापुर नगरपालिकाको सहयोग तथा दारीग्याङको समन्वयमा सामुदायिक विद्यालयहरूमा ‘स्टिम (STEAM) एजुकेसन अभिमुखीकरण कार्यक्रम’ आजदेखि औपचारिक रूपमा सुरु भएको हो।
कार्यक्रमको पहिलो सत्र कर्णाली माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको छ। विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी आधुनिक प्रविधि, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
आजको डिजिटल युगमा विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (AI), सूचना प्रविधि (IT) र अन्तरिक्ष विज्ञानतर्फ अघि बढिरहेको बेला टीकापुरका विद्यार्थीहरूलाई पनि यही यात्राको हिस्सा बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको हो।
सूचना प्रविधि क्षेत्रमा वरिष्ठ प्रशिक्षक निशान्त काफ्ले ले वेब डेभलपमेन्ट, कृत्रिम बुद्धिमत्ता (AI) तथा आधुनिक डिजिटल सीपका विषयमा व्यावहारिक ज्ञान प्रदान गर्नुहुनेछ। उहाँले विद्यार्थीहरूलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई भविष्यका सिर्जनशील आविष्कारकर्ता बन्न प्रेरित गर्नुहुने अपेक्षा गरिएको छ।
त्यसैगरी, खगोल तथा अन्तरिक्ष विज्ञानका प्रशिक्षक अरुण लोहार ले ब्रह्माण्डका रहस्य, ग्रह–नक्षत्र, अन्तरिक्ष अनुसन्धान तथा वैज्ञानिक खोजका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनुहुनेछ। NASA का विभिन्न Citizen Science Project मा स्वयंसेवकका रूपमा संलग्न रहँदै आउनुभएका लोहारले नेपालभरका एक लाखभन्दा बढी विद्यार्थीहरूमा खगोल विज्ञानको चेतना फैलाइसक्नुभएको छ।
स्थानीय तहबाट सुरु भएको यो अभियानले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता, वैज्ञानिक सोच र अनुसन्धान संस्कृतिको विकास गर्ने विश्वास गरिएको छ।
आजको विद्यार्थी नै भोलिको वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता र नवप्रवर्तक हो। अवसर पाएर सिक्न तयार हुनेहरूका लागि संसारको कुनै पनि सपना ठूलो हुँदैन भन्ने सन्देश यो कार्यक्रमले दिएको छ।
टीकापुरका सामुदायिक विद्यालयहरूमा सुरु भएको यो अभियानले धेरै विद्यार्थीहरूको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरु