टीकापुर १५ भदौ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका ९ हजार ३ सय १८ उपभोक्ता तथा समग्र टीकापुरवासीको सामूहिक भावना र ऐक्यबद्धताको प्रतिनिधित्व गर्दै उक्त रकम कोषमा जम्मा गरिएको संस्थाका सचिव प्रकाश खड्काले जानकारी दिएका छन्।
भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि संस्थाले मानवीय सहयोग गर्ने निर्णय गरेको हो।
संस्थाले जारी गरेको विज्ञप्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना पनि गरिएको छ।
उक्त रकम कुनै एक व्यक्ति, पदाधिकारी वा संस्थाको मात्र सहयोग नभई ९ हजार ३ सय १८ उपभोक्ता, समग्र टीकापुरवासी र संस्थाको साझा मानवीय भावना र सहयोगको प्रतीक भएको संस्थाले जनाएको छ।
विपत्तिले सीमा, भूगोल र व्यक्तिगत स्वार्थ नहेर्ने उल्लेख गर्दै संस्थाले कठिन समयमा एकले अर्काको दुःखमा साथ दिने, सकेको सहयोग गर्ने र पीडितको जीवन बचाउने अभियानमा एकजुट हुनु नै नेपालीपन भएको जनाएको छ।
संस्थाले प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र तथा सहयोगी हातहरू प्रभावकारी रूपमा परिचालित हुनुपर्ने अपेक्षा गरेको छ।
“पीडितको दुःखमा टीकापुर पनि सँगै छ। मानवीय सेवामा हाम्रो सानो सहयोग पीडित परिवारका लागि ठूलो भरोसा बनोस्,” सचिव खड्काले विज्ञप्तिमार्फत् भनेका छन्।
प्रतिक्रियाहरु