सोमवार, असार २२, २०८३
  • होमपेज
  • टीकापुर नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय रुपैयाँको बजेट पारित
Breaking News

टीकापुर नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय रुपैयाँको बजेट पारित

टीकापुर, असार १७ — टीकापुर नगरपालिकाको १९औँ नगरसभा बुधबार ज्येष्ठ सदस्य जयगम थारूको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम, बजेट तथा आर्थिक ऐन पारित गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय रुपैयाँ बराबरको बजेट स्वीकृत गरिएको छ। नगरले “समृद्ध नगर : खुसी नगरवासी” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै विकास, सुशासन र नागरिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।
बजेटमार्फत गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समावेशी विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै वडा तथा नगरस्तरीय गौरवका आयोजना, शिक्षा–स्वास्थ्य क्षेत्रको सुदृढीकरण, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन, युवा लक्षित कार्यक्रम तथा नगरको पूर्वाधार विकासलाई समेत विशेष महत्व दिइएको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह, राजस्व व्यवस्थापन तथा सामाजिक विकासका अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, विकास साझेदार तथा सम्पूर्ण नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ। बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट अपेक्षित उपलब्धि हासिल गर्न सबै पक्षको सकारात्मक साथ र सहकार्यको अपेक्षा गरिएको छ।
नगरसभालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, कर्मचारी तथा सम्पूर्ण नगरवासीप्रति नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। प्रेस विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सुमन घिमालको हस्ताक्षर रहेको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस