मातृका तिमिल्सिना
टीकापुर २३ असार
कैलाली जिल्लाको कृषि अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने व्यवसायिक केरा खेती स्थानीय सरकारहरूको नीति तथा बजेटमा भने अझै प्राथमिकतामा पर्न सकेको छैन। जिल्लाको कुल व्यवसायिक केरा खेतीमध्ये करिब ८० प्रतिशत हिस्सा टीकापुर क्षेत्रले ओगट्दा पनि हरेक वर्ष बजेट निर्माणका क्रममा यस क्षेत्रका किसानहरू उपेक्षित भएको गुनासो बढ्दै गएको छ।
उपलब्ध तथ्याङ्कअनुसार कैलालीमा करिब १,००० हेक्टर क्षेत्रफलमा व्यवसायिक केरा खेती हुँदै आएको छ। त्यसमध्ये करिब ८०० हेक्टर खेती टीकापुर तथा आसपासका क्षेत्रमा केन्द्रित छ। विभिन्न कृषि सम्बन्धी प्रतिवेदनले कैलालीबाट वार्षिक २८ हजार मेट्रिक टनभन्दा बढी केरा उत्पादन हुने उल्लेख गरेका छन्।
यस उत्पादनबाट कैलालीका किसानहरूले वर्षमा करिब २ अर्ब रुपैयाँ बराबरको केरा बिक्री गर्ने गरेका छन्। त्यसमध्ये मात्रै टीकापुर क्षेत्रका किसानहरूको वार्षिक कारोबार १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रहेको विभिन्न तथ्याङ्कले देखाउँछ। यसले टीकापुर क्षेत्रलाई सुदूरपश्चिमकै प्रमुख केरा उत्पादन केन्द्रका रूपमा स्थापित गरेको छ।
यति ठूलो आर्थिक योगदान हुँदाहुँदै पनि स्थानीय तहहरूले केरा खेतीको उत्पादन वृद्धि, रोग व्यवस्थापन, आधुनिक प्रविधि, प्रशोधन, भण्डारण, बजार व्यवस्थापन तथा बीमा कार्यक्रमजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रभावकारी नीति तथा बजेट ल्याउन नसकेको किसानहरूको भनाइ छ।
किसानहरूका अनुसार केरा खेतीमा रोगको जोखिम, उत्पादन लागत वृद्धि, बजार मूल्यको अनिश्चितता, सिँचाइको समस्या तथा प्राकृतिक विपद्का कारण वर्षेनी ठूलो क्षति व्यहोर्नुपर्छ। तर यी समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारबाट पर्याप्त पहल हुन सकेको छैन।
कृषि क्षेत्रका जानकारहरू भने स्थानीय सरकारले सडक, भवन तथा अन्य पूर्वाधारसँगै उत्पादनमुखी कृषि क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताउँछन्। उनीहरूका अनुसार केरा खेतीलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके रोजगार सिर्जना, आयात प्रतिस्थापन र स्थानीय अर्थतन्त्रको विस्तारमा ठूलो योगदान पुग्न सक्छ।
केरा उत्पादन क्षेत्रमा शीत भण्डारण, संकलन केन्द्र, प्याकेजिङ, प्रशोधन उद्योग, गुणस्तरीय बिरुवा उत्पादन, कृषि बीमा, सहज कृषि ऋण तथा प्राविधिक सेवामा लगानी गर्न सके किसानको आम्दानी उल्लेखनीय रूपमा बढ्ने विश्वास गरिएको छ।
टीकापुर क्षेत्रको कृषि अर्थतन्त्रमा केरा खेतीले महत्वपूर्ण स्थान ओगटेको भए पनि स्थानीय सरकारहरूको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा यसको स्पष्ट प्रतिबिम्ब देखिन सकेको छैन। आगामी बजेट तथा योजनामा व्यवसायिक केरा खेतीलाई उच्च प्राथमिकता दिँदै उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य शृङ्खलालाई समेट्ने कार्यक्रम ल्याउनुपर्ने आवाज किसान तथा सरोकारवालाबाट उठिरहेको छ।
स्थानीय तहहरूले कृषि क्षेत्रलाई विकासको मुख्य आधारका रूपमा स्वीकार गर्दै केरा खेतीलाई दीर्घकालीन रणनीतिक योजनामा समावेश गर्न सके टीकापुर मात्र होइन, समग्र कैलालीको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरु