धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा मन्त्रीहरूको गृहजिल्ला र पालिकामा बजेट केन्द्रित गरिएको भन्दै प्रश्न उठ्न थालेको छ।
प्रदेश सरकारका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री मानबहादुर रावलको गृहजिल्ला अछाममा मात्रै २५९ वटा योजना समावेश गरिएको पाइएको छ। ती योजनाका लागि कुल २३ करोड ७८ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बजेट पुस्तिकाले देखाएको छ।
एकै जिल्लामा यति धेरै योजना र ठूलो रकम छुट्याइएपछि प्रदेश सरकारले स्रोत–साधनको समान वितरणभन्दा पनि मन्त्री तथा सत्तापक्षका प्रभावशाली नेताको जिल्ला केन्द्रित बजेट विनियोजनलाई प्राथमिकता दिएको आरोप लाग्न थालेको छ।
विपक्षी दल तथा सरोकारवालाले प्रदेशका अन्य जिल्ला र स्थानीय तहका आवश्यकता ओझेलमा पारेर मन्त्रीको गृहजिल्लामा बजेटको “खोलो” बगाइएको टिप्पणी गरेका छन्। उनीहरूले सीमित बजेटलाई प्रदेशभर आवश्यकता र जनसंख्याका आधारमा समानुपातिक रूपमा वितरण गर्नुपर्नेमा राजनीतिक पहुँचका आधारमा योजना केन्द्रित गरिएको दाबी गरेका छन्।
यद्यपि प्रदेश सरकारका तर्फबाट भने अछाममा समावेश गरिएका योजना स्थानीय आवश्यकता, विकासको अवस्था तथा पूर्वतयारीका आधारमा छनोट गरिएको हुन सक्ने तर्क आउने अपेक्षा गरिएको छ। यस विषयमा मन्त्री रावल वा प्रदेश सरकारको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
प्रदेश सरकारले ल्याएको बजेटमाथि अहिले विभिन्न जिल्ला, पालिका र क्षेत्रगत रूपमा गरिएको बजेट वितरणको अध्ययन र तुलना भइरहेका बेला अछाममा मात्रै २५९ योजना समावेश भएको तथ्यले बजेट वितरणको निष्पक्षतामाथि थप बहस सिर्जना गरेको छ।
प्रतिक्रियाहरु