बझाङ, असार २७ (शनिबार) — बझाङको केदारस्युँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानामा पर्ने सुँगरे क्षेत्रमा शनिबार भएको भीषण जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १२ जना गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार से ००१२६४४ नम्बरको जीप केदारस्युँ–७ काँडाचौरबाट दुर्गाथली–६ चुवापनतर्फ जाँदै गर्दा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चक्र महत (६०), केलादेवी महत (६५) र विमला धामी (३५) को घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
यस्तै चालक देवबहादुर धामी सहित १२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ भने उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तथा थप सुविधायुक्त स्वास्थ्य संस्थातर्फ लैजाने तयारी भइरहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउने क्रम जारी छ।
प्रतिक्रियाहरु