कालिकोट, साउन २९ / कालिकोट जिल्लामा सोमबार दिउँसो गएको पहिरोमा परी पानीघट्टामा काम गरिरहेका दुई जनाको दुःखद मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:३० बजे सन्नी त्रिवेणी गाउँपालिका–६ अन्तर्गत काप्री खोलास्थित पानीघट्टामा गहुँ पिस्दै रहेका बेला अचानक माथिबाट पहिरो खसेको थियो। पहिरोले पानीघट्टा पूर्ण रूपमा पुरिँदा दुई जना पुरिएका थिए।
घटनामा सोही वडाको धामी गाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउद को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल मेहालमुडी प्रहरी चौकीबाट करिब १० किलोमिटर टाढा रहेको बताइएको छ। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको र दुवै जनाको शव बाहिर निकालेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार निरन्तरको मनसुनी वर्षाका कारण पहिरो गएको हो। पछिल्ला दिनहरूमा देशका पहाडी तथा हिमाली जिल्लामा वर्षासँगै पहिरोको जोखिम बढेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
प्रतिक्रियाहरु