बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • सुदूरपश्चिम प्रदेश सरकारले बजेट काटेपछि खक्रौला नाकाको हेल्थ डेस्क बन्द हुने अवस्थामा
Breaking News

सुदूरपश्चिम प्रदेश सरकारले बजेट काटेपछि खक्रौला नाकाको हेल्थ डेस्क बन्द हुने अवस्थामा

“हेल्थ डेस्क बन्द हुनु हुँदैन, बजेट व्यवस्था गर्नुपर्छ”टीकापुरका स्वास्थ्य प्रवर्धन शाखा प्रमुख रावल

टीकापुर, कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमा रकम विनियोजन नगरेपछि कैलालीको भारतसँग जोडिएको खक्रौला नाकामा सञ्चालन हुँदै आएको हेल्थ डेस्क बन्द हुने अवस्थामा पुगेको छ।

भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य परीक्षण गरी सरुवा रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त हेल्थ डेस्क प्रदेश सरकारको बजेटबाट सञ्चालन हुँदै आएको थियो। चालु आर्थिक वर्षको प्रस्तावित बजेटमा यसका लागि आवश्यक रकम समावेश नगरिएपछि सेवा निरन्तरतामाथि प्रश्न उठेको हो।

हेल्थ डेस्कमा कार्यरत ल्याब असिस्टेन्ट प्रेमिका कुँवरका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयबाट आफूहरूलाई त्रिनगर भन्सार कार्यालयमा जान जानकारी गराइएको छ। उहाँले प्रदेश सरकारबाट बजेट नआए हेल्थ डेस्कको सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको बताउनुभयो।

चालु आर्थिक वर्षमा मात्र उक्त हेल्थ डेस्कमार्फत १६ हजार २०५ जनाको स्वास्थ्य परीक्षण गरिएको तथ्यांक छ। सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको नियमित स्वास्थ्य जाँच गरी सरुवा रोग फैलिन नदिन हेल्थ डेस्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

खक्रौला नाका दक्षिणी भारतीय सीमादेखि उत्तरी चिनियाँ सीमा ताक्लाकोटसम्म जोड्ने निर्माणाधीन सेती लोकमार्गको प्रमुख प्रवेशद्वार मानिन्छ। यही कारण यहाँ दैनिक रूपमा नेपाल–भारत आवतजावत गर्ने यात्रुको चाप रहने गरेको छ।

हेल्थ डेस्क सञ्चालनका लागि सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय अगाडि प्रदेश सरकारको बजेटमा भवनसमेत निर्माण गरिएको छ। भवन तयार भइसके पनि बजेट अभावका कारण सेवा नै बन्द हुने अवस्था आएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

हाल झुलाघाट, धारचुला, महेन्द्रनगर र धनगढीका सीमा नाकामा रहेका हेल्थ डेस्कहरू भने संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका छन्। तर खक्रौला हेल्थ डेस्क प्रदेश सरकारको बजेटमा निर्भर रहेकाले बजेट कटौतीसँगै यसको भविष्य अन्योलमा परेको हो।

सीमावर्ती क्षेत्रमा सरुवा रोगको निगरानी तथा प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि महत्त्वपूर्ण मानिएको खक्रौला हेल्थ डेस्क बन्द भए सीमाबाट हुने स्वास्थ्य निगरानी प्रणाली प्रभावित हुन सक्ने सरोकारवालाहरूको चिन्ता छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस