बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशको विवाद उत्कर्षमा : मुख्यमन्त्री शाहद्वारा एमालेका चारै मन्त्री पदमुक्त
Breaking News

सुदूरपश्चिम प्रदेशको विवाद उत्कर्षमा : मुख्यमन्त्री शाहद्वारा एमालेका चारै मन्त्री पदमुक्त

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको बजेट विवादले नयाँ मोड लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का चारै जना मन्त्रीलाई पदबाट हटाउने निर्णय गरेका छन्।
पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहेका छन्।
मुख्यमन्त्री शाहले यसअघि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाउँदै प्रदेश सरकारले ल्याएको बजेटप्रति पार्टीको स्पष्ट धारणा मागेका थिए। सरकारमै रहेर बजेटको विरोध गर्नु उचित नहुने उल्लेख गर्दै उनले बजेट पारित गर्न सहयोग गर्ने वा सरकारबाट अलग हुनेमध्ये एउटा विकल्प रोज्न आग्रह गरेका थिए।
तर बजेटप्रति एमालेको असन्तुष्टि कायमै रहेपछि परिस्थिति थप जटिल बनेको थियो। कांग्रेस नेतृत्वको प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटविरुद्ध एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि सत्ता साझेदार दलबीचको मतभेद सार्वजनिक रूपमा चर्किएको थियो।
बजेटलाई केन्द्रमा राखेर बढेको राजनीतिक तनावपछि मुख्यमन्त्री शाहले अन्ततः एमालेका सबै मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। यस घटनाले सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण र आगामी राजनीतिक गतिविधिमा थप प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस