मातृका तिमिल्सिना
पत्रकारितामा बिताएको करिब २५ वर्षले मलाई एउटा गहिरो पाठ सिकाएको छ—सत्य बोल्दा तत्काल तालीभन्दा बढी आलोचना आउन सक्छ, तर यदि त्यो सत्य समाजको हितका लागि बोलेको हो भने त्यसको परिणाम कुनै न कुनै दिन अवश्य देखिन्छ।
यो घटना करिब २०८० सालतिरको हो। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको थियो र टिकापुर नगरपालिकाको नेतृत्व तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुले सम्हालिरहनुभएको थियो।
एक बिहान मलाई कसैले फोन गरेर भन्यो,
“दाइ, सिटीहल त ठूला कार्यक्रम गर्नका लागि बनाइएको हो। तर बिहानैदेखि त्यहाँ ब्याडमिन्टन खेलिन्छ। नगर प्रमुख स्वयं खेल्न आउनुहुन्छ। यो विषय तपाईंले उठाइदिनुपर्यो।”
यति सुनेपछि म सिधै टिकापुर सिटीहल पुगेँ। त्यहाँ पुगेर हेर्दा साँच्चै ब्याडमिन्टन खेल्नका लागि अस्थायी संरचना बनाइएको रहेछ।
मैले आफ्नो सञ्चार माध्यमबाट लेखेँ—
“सिटीहल ठूला सभा, सांस्कृतिक कार्यक्रम र सार्वजनिक गतिविधिका लागि निर्माण गरिएको पूर्वाधार हो। यसलाई स्थायी रूपमा ब्याडमिन्टन कोर्टका रूपमा प्रयोग गर्नु उपयुक्त होइन। यसको मूल उद्देश्यअनुसार नै प्रयोग गरिनुपर्छ।”
समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। धेरैले गाली गरे। ब्याडमिन्टन खेल्ने साथीहरू त झन् मेरो कुरा स्वीकार्न तयार थिएनन्।
त्यही साँझ घरमा भाइहरू प्रकाश र लक्ष्मणले पनि भने,
“दाइ, यस्ता नकारात्मक प्रतिक्रिया आउने विषय धेरै नउठाउनुस्।”
मैले उनीहरूलाई जवाफ दिएँ,
“मैले गलत लेखेको छैन। सिटीहल बनाउने उद्देश्य फरक थियो। म त्यसको निर्माणका लागि भएका प्रारम्भिक छलफलमा पनि सहभागी थिएँ। अहिले जे प्रतिक्रिया आए पनि दीर्घकालमा यसले राम्रो परिणाम दिन्छ भन्ने मलाई विश्वास छ।”
समय बित्यो। त्यो समाचार पनि बिस्तारै मेरो सम्झनाबाट हरायो।
केही समयपछि वीरेन्द्र विद्या मन्दिरको खेलमैदानमा भव्य कवर्ड हल निर्माण भइरहेको भन्ने सूचना पाएँ। सकारात्मक समाचार बनाउने उद्देश्यले म त्यहाँ पुगेँ।
त्यही बेला विद्यालयका आदरणीय शिक्षक ओमनाथ उपाध्याय दाइसँग भेट भयो।
उहाँले सोध्नुभयो,
“कता जान लाग्नुभएको भाइ?”
मैले भनेँ,
“दाइ, यहाँ कवर्ड हल बनिरहेको सुनेँ। त्यसैको सकारात्मक समाचार बनाउन आएको।”
उहाँ पनि सँगै जानुभयो।
निर्माणस्थलतिर जाँदै गर्दा उहाँले एउटा रोचक कथा सुनाउनुभयो।
“यो कवर्ड हल बन्नुको एउटा कारण तपाईंले लेखेको त्यो समाचार पनि हो।”
म अचम्म परेँ।
“मलाई त यादै छैन दाइ,” मैले भनेँ।
उहाँले भन्नुभयो,
“तपाईंले सिटीहलमा ब्याडमिन्टन खेलिएको विषय उठाएपछि मेरो तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुसँग भेट भयो। उहाँले भन्नुभएको थियो, ‘टिकापुरमा केही गर्न खोजे पनि विरोध भइहाल्छ। ब्याडमिन्टन खेलेको पनि आलोचना भयो।'”
ओमनाथ दाइले उहाँलाई सम्झाउनुभएछ,
“नेतृत्वमा हुँदा आलोचना त भइरहन्छ। बरु खेलाडीका लागि छुट्टै कवर्ड हल बनाइदिनुस्।”
नगर प्रमुखले सोध्नुभएछ,
“कहाँ बनाउने?”
ओमनाथ दाइले सुझाव दिनुभएछ,
“वीरेन्द्र विद्या मन्दिरको यत्रो खेलमैदान छ। यहीँ बनाऔँ।”
उहाँका अनुसार त्यसपछि नगरसभाबाट बजेट विनियोजन भयो र आज टिकापुरले एउटा भव्य कवर्ड हल पाएको छ।
त्यसपछि मैले पूर्व नगर प्रमुख रामलाल डगौरा थारुलाई पनि फोन गरेँ।
मैले सोधेँ,
“कवर्ड हल निर्माण गर्ने प्रेरणा कहाँबाट आयो?”
उहाँले भन्नुभयो,
“म आफैँ खेलप्रेमी मान्छे हुँ। खेलाडीहरूले उपयुक्त पूर्वाधार नपाएर दुःख पाइरहेको देखेँ। त्यसैले यो पूर्वाधार निर्माण गर्ने निर्णय गरियो।”
मैले फेरि सम्झाएँ,
“मैले सिटीहलमा ब्याडमिन्टन खेलिएको विषयमा आलोचनात्मक समाचार लेखेको थिएँ, याद छ?”
उहाँ हाँस्दै भन्नुभयो,
“हो, याद छ।”
मैले भनेँ,
“त्यो तपाईंको व्यक्तिगत विरोध थिएन। पदमा बसेर भएका निर्णयमाथि पत्रकारिताको दृष्टिकोणबाट प्रश्न उठाएको मात्र थिएँ। त्यसले अन्ततः यस्तो सकारात्मक परिवर्तन ल्यायो भन्ने लागेर यो कुरा लेख्दैछु।”
उहाँले छोटो तर अर्थपूर्ण जवाफ दिनुभयो,
“तपाईंले भनेको कुरा ठीक हो।”
आज जब म वीरेन्द्र विद्या मन्दिरको खेलमैदानमा बनेको त्यो भव्य कवर्ड हल देख्छु, तब मलाई फेरि एउटा सत्य सम्झना हुन्छ।
सत्य कहिलेकाहीँ तीतो हुन्छ।
तीतो औषधि खान मन नलागे पनि त्यसले स्वास्थ्य दिन्छ। त्यसैगरी, समाजका लागि बोलिएको सत्य तत्काल अप्रिय लाग्न सक्छ, आलोचना आउन सक्छ, गलत बुझाइ हुन सक्छ। तर यदि उद्देश्य समाजको हित हो भने त्यसको परिणाम ढिलोचाँडो सकारात्मक रूपमा देखिन्छ।
त्यसैले पत्रकारिताको धर्म कसैलाई खुसी पार्नु होइन, समाजको हितमा सत्य बोल्नु हो।
हिजो मैले तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुको निर्णयको आलोचना गरेको थिएँ। आज उहाँकै नेतृत्वमा बनेको यो महत्वपूर्ण खेल पूर्वाधारका लागि खुलेर प्रशंसा गर्न चाहन्छु।
वीरेन्द्र विद्या मन्दिरको खेलमैदानमा निर्माण भएको भव्य कवर्ड हल टिकापुरका खेलाडीहरूको भविष्यका लागि एउटा ऐतिहासिक उपलब्धि हो।
यस कार्यका लागि निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
आलोचना यदि समाज सुधारका लागि हो भने त्यसले अन्ततः परिवर्तन जन्माउँछ।
जय होस्। धन्यवाद।
प्रतिक्रियाहरु