गोल्डकपले जगायो आशा, तर दीर्घकालीन सञ्चालनको जिम्मेवारी कसको?
टीकापुर (कैलाली)। करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको टीकापुरको अत्याधुनिक खेलकुद संरचना अहिले सञ्चालन र स्वामित्वको अन्योलमा परेको छ। करिब १३ करोड रुपैयाँ बजेट विनियोजन भई ९ करोड ९० लाख रुपैयाँ लागतमा निर्माण भएको २० बिघा क्षेत्रफलको खेलकुद परिसर नेपालकै नमुना ‘स्पोर्ट्स एकेडेमी’ बन्न सक्ने सम्भावना बोकेको भए पनि अहिले यसको अभिभावक को हुने भन्ने प्रश्न गम्भीर बनेको छ।
खेलाडी उत्पादन गर्ने, नियमित प्रतियोगिता सञ्चालन गर्ने र खेल पर्यटनको केन्द्र बन्न सक्ने सम्भावना रहेको यो संरचना निर्माण त भयो, तर यसको स्वामित्व ग्रहण गर्ने र सञ्चालन गर्ने निकाय अझै स्पष्ट हुन सकेको छैन।
संरचना बन्यो, जिम्मेवारीको खोजी बाँकी
निर्माण सम्पन्न भएको खेलकुद संरचना अहिलेसम्म न प्रदेश सरकारले औपचारिक रूपमा पूर्ण स्वामित्वमा लिएको छ, न त टीकापुर नगरपालिकाले सञ्चालनको स्पष्ट योजना सार्वजनिक गरेको छ।
प्रदेश सरकार संरचना हस्तान्तरण गर्ने तयारीमा देखिन्छ भने नगरपालिकाले सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै आएको छ। जसका कारण करोडौँको लगानीमा बनेको पूर्वाधारको नियमित प्रयोग र संरक्षणमै प्रश्न उठेको छ।
स्थानीय खेलप्रेमीहरूको चिन्ता छ— यदि समयमै सञ्चालन मोडालिटी तय भएन भने भव्य संरचना पनि बिस्तारै सुनसान बन्न सक्छ।
टीकापुर गोल्डकप : नयाँ आशाको किरण
यही अन्योलबीच टीकापुर उद्योग वाणिज्य सङ्घले आगामी असोजमा ‘टीकापुर गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ।
सरकारी निकायहरूबीच जिम्मेवारीको बहस चलिरहेका बेला निजी क्षेत्रबाट आएको यो पहलले खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ। प्रतियोगिताले लामो समयदेखि प्रयोगविहीन बन्दै गएको खेल मैदानमा पुनः चहलपहल ल्याउने अपेक्षा गरिएको छ।
टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का भन्छन्,
“खेलकुदको माध्यमबाट टीकापुरको पहिचान जोगाउन र सहरलाई चलायमान बनाउन एकपटकका लागि उद्योग वाणिज्य सङ्घ आफैं मैदानमा उत्रिनुपरेको हो।”
के गोल्डकपले बदल्न सक्छ स्पोर्ट्स एकेडेमीको भविष्य?
टीकापुर गोल्डकपले निश्चित रूपमा खेलकुदप्रतिको आकर्षण बढाउने र संरचनालाई जीवन्त बनाउने अपेक्षा गरिएको छ। तर प्रश्न अझै बाँकी छ— के एउटा प्रतियोगिताले मात्रै १० करोडभन्दा बढी लगानी भएको स्पोर्ट्स एकेडेमीको भविष्य सुनिश्चित गर्न सक्छ?
स्थानीय खेलाडी उत्पादन, प्रशिक्षक व्यवस्थापन, नियमित प्रतियोगिता, मर्मत सम्भार र आर्थिक स्रोतको दीर्घकालीन योजना बिना यस्ता संरचना प्रभावकारी सञ्चालन गर्न कठिन हुन्छ।
अब आवश्यक छ— प्रदेश सरकार, टीकापुर नगरपालिका, खेलकुद क्षेत्रका विज्ञ, निजी क्षेत्र र स्थानीय समुदायबीच स्पष्ट सहकार्य।
टीकापुरको यो खेलकुद पूर्वाधार केवल भवन र मैदानमा सीमित नरहोस्, यसलाई सुदूरपश्चिमकै खेलकुद केन्द्र बनाउने जिम्मेवारी अब कसले लिन्छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ।
प्रतिक्रियाहरु