टीकापुर, कैलाली । सुदूरपश्चिमको टीकापुरमा नेपालकै ठूलो तथा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ आगामी मंसिर १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।
ईश्वर प्रेमी सेवा आश्रम, टीकापुर–कैलालीको आयोजनामा तथा श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजको संकल्पमा आयोजना हुन लागेको महायज्ञमा देशभरबाट हजारौं श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
महायज्ञमा १०८ वटा हवन कुण्डमा एकसाथ वैदिक विधिअनुसार हवन, गोपाल सहस्रनामबाट आहुति, चारै वेदको पारायण तथा १८ पुराणको पारायण गरिने कार्यक्रम रहेको छ।
त्यस्तै, ज्वाला फैलेखको नाभिस्थानबाट पवित्र अग्नि ल्याइने विशेष कार्यक्रम पनि समावेश गरिएको छ। धर्म संरक्षण, अर्थ समृद्धि, कामना सिद्धि तथा पितृ उद्धारको उद्देश्यले आयोजना हुन लागेको यस महायज्ञले सनातन वैदिक संस्कृतिको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ।
आयोजकका अनुसार १०८ हवन कुण्डमा एकसाथ वैदिक अनुष्ठान सञ्चालन हुने भएकाले यो महायज्ञ नेपालकै धार्मिक इतिहासमा एक विशेष र ऐतिहासिक आयोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरु