टीकापुर, साउन ७ । बर्दियाको गेरुवा गाउँपालिकास्थित मनाउ नदीमा पुल निर्माण गरी टीकापुरलाई बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वारासँग जोड्न स्थानीयवासीले माग गरेका छन्।
स्थानीयका अनुसार सनकट्टी घाटमा कर्णाली नदीमाथिको पुल सञ्चालनमा आएपछि ठाकुरद्वाराबाट टीकापुर पुग्ने दूरी उल्लेखनीय रूपमा छोटिएको छ। अब मनाउ नदीमा पनि पुल निर्माण भए ठाकुरद्वाराबाट टीकापुर पुग्ने सबैभन्दा छोटो सडक मार्ग करिब १८ किलोमिटर हुने र दुई क्षेत्रबीचको आवतजावत थप सहज बन्ने अपेक्षा गरिएको छ।
मनाउ नदीमा पुल बनेपछि बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, टीकापुर पार्क, पद्मोराक्षेश्वर मन्दिर तथा डल्फिन अवलोकन क्षेत्रलगायतका पर्यटकीय गन्तव्यलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ। यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्नुका साथै होटल, व्यवसाय, यातायात र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाले संघ, प्रदेश तथा सम्बन्धित स्थानीय तहले मनाउ नदीमा पुल निर्माणलाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार पुल निर्माणले केवल यातायात सहज बनाउने मात्र नभई कैलाली र बर्दियाको पर्यटन, व्यापार तथा आर्थिक गतिविधिलाई नयाँ गति दिनेछ।
प्रतिक्रियाहरु