बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • डाक्टर गोविन्द केसीज्यूलाई एक सुदूरपश्चिमबासीको भावनात्मक खुलापत्र
Breaking News

डाक्टर गोविन्द केसीज्यूलाई एक सुदूरपश्चिमबासीको भावनात्मक खुलापत्र

आदरणीय डाक्टर गोविन्द केसीज्यू,
सर्वप्रथम तपाईंप्रति सम्मान व्यक्त गर्न चाहन्छु। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि तपाईंले गर्नुभएका संघर्ष, त्याग र आन्दोलनलाई हामीले नजिकबाट हेरेका छौं। तपाईंले उठाएका धेरै विषयहरू आम नागरिकको हितसँग जोडिएका छन्। तपाईंको नियत र इमानदारितामाथि हामी प्रश्न उठाउन चाहँदैनौं।
तर डाक्टर साहब, आज हामी सुदूरपश्चिमबासीको एउटा पीडा, एउटा सपना र एउटा दशकौं लामो प्रतीक्षा बोकेर तपाईंसमक्ष यो खुलापत्र लेखिरहेका छौं।
तपाईं काठमाडौँमा बस्नुहुन्छ। काठमाडौँमा थुप्रै मेडिकल कलेज छन्। देशका अन्य प्रदेशमा पनि मेडिकल कलेज सञ्चालनमा छन्। सबैभन्दा पछाडि परेको भनिएको कर्णालीमा समेत जुम्लामा मेडिकल कलेज स्थापना भइसकेको छ। तर विडम्बना, सुदूरपश्चिम प्रदेशले अहिलेसम्म एउटा पनि मेडिकल कलेज पाउन सकेको छैन।
डाक्टर साहब, हामीले यहाँसम्म आइपुग्न पनि कति संघर्ष गर्नुपर्‍यो भन्ने कुरा सम्झिदिनुहोस्। एउटा कर्णालीको पुल बनेपछि मात्रै हामी धेरै सुदूरपश्चिमबासीले आफूलाई बाँकी नेपालसँग जोडिएको महसुस गरेका थियौं। त्योभन्दा अगाडि काठमाडौँ पुग्न पनि हामीमध्ये धेरैले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। हाम्रो भौगोलिक पीडा र राज्यबाट भएको दूरीलाई कृपया बुझिदिनुहोस्।
आज तपाईं गेटामा स्थापना हुन लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्छ भन्ने हामीले सुनेका छौं। तपाईंका माग र चासो के हुन्, त्यसबारे हामी पूर्ण रूपमा जानकार छैनौं। तर डाक्टर साहब, हाम्रो भावना गेटासँग जोडिएको छ। यो केवल एउटा विश्वविद्यालय होइन, यो सुदूरपश्चिमका लाखौं नागरिकको आशा हो, सपना हो र भविष्य हो।
हामी तपाईंलाई आग्रह मात्र गर्न चाहन्छौं—कृपया गेटाको सपनामाथि असर पर्ने गरी अनसन नबसिदिनुहोस्।
डाक्टर साहब, तपाईंलाई थाहा छ, सुदूरपश्चिममा मुटुको रोग लाग्यो भने विशेषज्ञ उपचारका लागि काठमाडौँ धाउनुपर्छ। यहाँ कार्डियोलोजिस्ट छैनन्। पैसा हुनेहरू हजारौं रुपैयाँ खर्च गरेर काठमाडौँ पुग्छन्, पैसा नहुनेहरू भाग्यको भर पर्न बाध्य छन्।
कैलाली र कञ्चनपुरमा ठूलो संख्यामा बसोबास गर्ने थारु समुदाय सिकल सेल एनिमियाजस्तो गम्भीर वंशाणुगत रोगसँग जुधिरहेको छ। तर त्यस्तो रोगको उपचार गर्ने हेमाटोलोजिस्ट डाक्टरसमेत सुदूरपश्चिममा छैनन्। आफ्नै प्रदेशमा उपचार नपाएर टाढा जानुपर्ने पीडा कस्तो हुन्छ, हामीले वर्षौंदेखि भोगिरहेका छौं।
डाक्टर साहब, एउटा तथ्यले हामी सबैलाई सोच्न बाध्य बनाउँछ—देशभर विशेषज्ञ चिकित्सकको संख्या बढ्दै जाँदा पनि सुदूरपश्चिम अझै पछाडि छ। यहाँ दरबन्दी कम छ, भएका दरबन्दीका चिकित्सकसमेत अन्यत्र काजमा जाने अवस्था छ। स्वास्थ्य सेवाको पहुँचमा रहेको यो असमानता कहिलेसम्म सहने?
सामान्य रोगको उपचारका लागि पनि धनगढीबाट काठमाडौँ पुग्न १८ हजार रुपैयाँभन्दा बढी टिकट खर्च गर्नुपर्ने अवस्था छ। पैसा हुनेहरू उपचारका लागि काठमाडौँ पुग्छन्, तर आर्थिक अवस्था कमजोर भएका धेरै नागरिकहरू उपचार नपाएर पीडा सहन बाध्य छन्।
डाक्टर साहब,
कोरोना महामारीको त्यो कठिन समय सम्झिनुहोस्। अस्पतालको अभावमा कतिपय नागरिकले घरमै ज्यान गुमाउनुपर्‍यो। राज्यसँग त्यसको पूर्ण हिसाब छैन। सुदूरपश्चिमका दुर्गम पहाडी जिल्लाहरू—दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम र डोटीका गाउँहरूमा अझै पनि सामान्य स्वास्थ्य सेवा सहज छैन। कतिपय नागरिकलाई ज्वरो आउँदा सिटामोल पाउनु पनि चुनौती छ। कैयौं आमाहरूले प्रसूति सेवा नपाएर ज्यान गुमाएका छन्। दुर्घटनामा परेका नागरिकले समयमै उपचार नपाएर ज्यान गुमाएका छन्।
एकपटक बाजुराको औसत आयु र काठमाडौँको औसत आयुलाई तुलना गरेर हेर्नुहोस् डाक्टर साहब। त्यसले हाम्रो वास्तविक पीडा देखाउनेछ।
हामीले गेटामा बन्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केवल एउटा भवन देखेका छैनौं। हामीले त्यहाँ हाम्रो भविष्य देखेका छौं। हामीले त्यहाँ आफ्ना छोराछोरीले डाक्टर बन्ने सपना देखेका छौं। हामीले त्यहाँ बिरामी हुँदा आफ्नै प्रदेशमा उपचार पाउने आशा देखेका छौं।
सरकारले दशकौं लामो हाम्रो माग सुनेर बल्लतल्ल स्वास्थ्य विज्ञान विश्वविद्यालयको बाटो खोलेको छ। यसै वर्षदेखि पढाइ सुरु गर्ने आशा जागेको छ। यही आशाको दियो निभ्न नदिन हामी तपाईंलाई विनम्र आग्रह गर्दछौं।
डाक्टर साहब, यदि गेटा विश्वविद्यालय सञ्चालन भइसकेपछि पनि यहाँ विशेषज्ञ चिकित्सकको अभाव रह्यो, दरबन्दी पुगेन, स्वास्थ्य सेवामा विभेद भयो भने त्यसका लागि तपाईंले आवाज उठाउनुभयो भने हामी सुदूरपश्चिमबासी तपाईंको साथमा उभिनेछौं। तपाईंको आन्दोलनमा हामी पनि सहभागी हुनेछौं।
तर अहिले हाम्रो एउटै अनुरोध छ—हाम्रो सपनालाई बुझिदिनुहोस्। हाम्रो पीडालाई महसुस गरिदिनुहोस्। गेटा केवल सुदूरपश्चिमको आयोजना होइन, यो न्यायको प्रतीक हो।
हामी सुदूरपश्चिमबासीलाई अभावसँग जुध्न बानी परेको छ। एक छाक खाना जुटाउन टाढाबाट चामल बोकेर ल्याएको इतिहास हामीसँग छ। तर अब हामी आफ्नै भूमिमा स्वास्थ्यको उज्यालो चाहन्छौं।
डाक्टर साहब, तपाईं जनताको पीडाका लागि लड्ने व्यक्ति हुनुहुन्छ। त्यसैले हामी विश्वास गर्छौं—तपाईंले सुदूरपश्चिमको यो पीडा पनि बुझ्नुहुनेछ।
कृपया आफ्ना मागहरू सभ्य र संयमित ढंगले राख्नुहोस्, तर सुदूरपश्चिमको दशकौं पुरानो स्वास्थ्य सपनामाथि असर पर्ने कदम नचालिदिनुहोस्।
हामी तपाईंका विरोधी होइनौं, तपाईंलाई सम्मान गर्ने नागरिक हौं। हाम्रो आग्रह केवल यत्ति हो—गेटालाई बन्न दिनुहोस्, सुदूरपश्चिमलाई पनि स्वास्थ्य सेवाको उज्यालोमा पुग्न दिनुहोस्।
उही तपाईंको शुभचिन्तक,
मातृका तिमिल्सिना
टीकापुर, कैलाली

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस