टीकापुर १४ भदौ। टीकापुर उद्योग वाणिज्य संघले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गरिएको छ।
संघका महासचिव प्रकाश तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
संघले प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, संघ–संस्था, उद्योगी–व्यवसायी र सम्पूर्ण नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ। विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै निजी क्षेत्र तथा आम नागरिकलाई समेत आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्न आह्वान गरिएको छ।
प्रतिक्रियाहरु