टीकापुर, असार १६ – टिकापुर उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीका विभिन्न समस्या समाधान गर्न माग गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ।
संघका महासचिव प्रकाश तिमिल्सिनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघ यस क्षेत्रका व्यापारी–व्यवसायीहरूको छाता संस्था भएको उल्लेख गर्दै व्यवसायीहरूको हकहितको संरक्षण र उनीहरूले भोगिरहेका समस्याको समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमार्फत संघले व्यवसायीका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गर्दै विभिन्न ६ बुँदे माग अघि सारेको छ। संघले व्यापारी–व्यवसायीसँग जोडिएका करका दर घटाउन, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन, नगरपालिका परिसरका व्यवसायीहरूले भोगिरहेको भाडा व्यवस्थापनसम्बन्धी समस्याको उचित समाधान गर्न माग गरेको छ।
त्यस्तै, आगामी आर्थिक वर्षदेखि संघसँगको सहकार्यमा टिकापुरको व्यापार तथा व्यवसाय प्रवर्द्धन हुने कार्यक्रम सञ्चालन गर्न, संघको कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्न तथा टिकापुर गोल्डकप फुटबल प्रतियोगिताका लागि आगामी बजेटमा आवश्यक रकम छुट्याउन पनि नगरपालिकासँग आग्रह गरिएको छ।
संघले यी मागहरू कार्यान्वयन भए टिकापुरको व्यापार, व्यवसाय तथा आर्थिक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गर्दै आवश्यक पहल गरिदिन नगरपालिकासँग अनुरोध गरेको छ।
प्रतिक्रियाहरु