टीकापुर, साउन १ — टिकापुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ। नगरपालिकाका अनुसार हालसम्म रु. १० करोड ४४ लाख ३८ हजार ३२९ रुपैयाँ ११ पैसा आन्तरिक राजस्व संकलन भएको छ।
नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो रकम चालु आर्थिक वर्षका लागि गरिएको अनुमानित लक्ष्यको १२२.८७ प्रतिशत तथा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.९३ प्रतिशत बराबर रहेको छ। यसले टिकापुर नगरपालिकाको आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि भएको देखाएको छ।
नगरपालिकाले राजस्व पोर्टलमार्फत करदाताले राति १२ बजेसम्म पनि राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था रहेकाले अन्तिम विवरणमा राजस्व संकलनको रकम अझै बढ्न सक्ने जनाएको छ।
टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार यस वर्ष गत आर्थिक वर्षमा ठेक्का लाग्न नसकेको ढुङ्गा–गिट्टी उत्खनन तथा बिक्रीको ठेक्का सफलतापूर्वक लाग्नु, साथै कर्मचारीहरूको लगनशीलता, सक्रियता र मेहनतका कारण नगरपालिकाले आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि गर्न सफल भएको हो।
नगरपालिकाले आगामी दिनमा पनि राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै आन्तरिक आय वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
प्रतिक्रियाहरु