टीकापुर, कैलाली। कैलालीका किसानलाई प्रदेश सरकारको अनुदानमा पावर टिलर उपलब्ध गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा धनगढीका भनिएका सन्तोष चौधरी विरुद्ध पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्।
पीडितका अनुसार टीकापुर नगरपालिका–३ कटानपुरका राजकुमार चौधरी, सोही वडाका भागीराम चौधरी तथा टीकापुर नगरपालिका–१ बनगाउँका शिवचरण चौधरी बाट प्रतिव्यक्ति रु. १ लाख १५ हजार का दरले रकम लिइएको थियो। उनीहरूलाई अनुदानमा पावर टिलर उपलब्ध गराइदिने भन्दै धनगढीसमेत बोलाइएको भए पनि अन्ततः कुनै पावर टिलर उपलब्ध गराइएन।
पीडितहरूले यस विषयमा सामुदायिक प्रहरी, टीकापुरमा समेत उजुरी दिएका थिए। उजुरीपछि सामुदायिक प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमध्ये एक जनासँग सम्पर्क गराएको थियो। त्यसक्रममा धनगढीका भनिएका सन्तोष चौधरीले टेलिफोनमार्फत आफूले रकम लिएको स्वीकार गर्दै अर्को हप्ताको सोमबार पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको पीडितहरूको सामुदायिक प्रहरी टीकापुरका अध्यक्ष ताराप्रसाद अधिकारीले जानकारी दिनुभयो। तर त्यसपछि रकम फिर्ता गर्नुको सट्टा उनी सम्पर्कविहीन भएको अधिकारीले बताए ।
पीडित परिवारका अनुसार यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुरमा करिब एक महिनाअघि नै लिखित उजुरी दर्ता गरिए पनि हालसम्म आरोपित पक्राउ परेका छैनन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगी ले उक्त घटनाबारे कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने बताएका छन्।
समाचार स्रोतका अनुसार कैलालीमा किसानलाई अनुदानमा पावर टिलर उपलब्ध गराइदिने नाममा रकम उठाउने एउटा संगठित गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
स्रोतका अनुसार उक्त गिरोहले दर्जनौं किसानबाट रकम उठाएर ठगी गरेको आरोप छ भने यस प्रकारका घटनामा संलग्न केही व्यक्तिविरुद्ध मुद्दा दर्ता भई कारागारसमेत पुगेको जानकारी प्राप्त भएको छ। यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
उल्लेखनीय छ, प्रदेश सरकारको अनुदानमा वितरण हुने पावर टिलर कार्यक्रमसँग सम्बन्धित अनियमितताको विषय विगतमा पनि विवादमा परेको थियो। सो प्रकरणमा केही मन्त्री पदबाट हटाइएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित विषयमा छानबिन गरिरहेको छ।
(नोट: यो समाचार पीडित पक्ष, प्रहरी र समाचार स्रोतबाट प्राप्त जानकारीका आधारमा तयार गरिएको हो। आरोपित पक्षसँग विस्तृत प्रतिक्रिया प्राप्त हुन बाँकी रहेकोले उनीहरूको भनाइ प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।)
प्रतिक्रियाहरु