कुटपिटपछि स्वास्थ्यकर्मीको बायाँ कानको श्रवणशक्ति गम्भीर रूपमा प्रभावित, थप परीक्षण र उपचारका लागि रिफर
टीकापुर, श्रावण २ – टीकापुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रयोगशाला प्राविधिक उमेशप्रसाद बजगाईंमाथि भएको भनिएको कुटपिट घटनापछि गरिएको श्रवण परीक्षणमा उहाँको बायाँ कानको सुन्ने क्षमता मध्यमदेखि गम्भीर स्तरसम्म प्रभावित भएको चिकित्सकीय प्रतिवेदनले देखाएको छ।
पीडित परिवारले सञ्चारकर्मीलाई उपलब्ध गराएको श्रवण परीक्षण (अडियोलोजी) प्रतिवेदन अनुसार, दायाँ कानको श्रवणशक्ति सामान्य अवस्थामा रहेको छ भने बायाँ कानको श्रवणशक्ति मध्यमदेखि गम्भीर रूपमा घटेको उल्लेख गरिएको छ।
त्यस्तै, नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञको प्रतिवेदनमा पीडितको कुटपिट भएको इतिहास उल्लेख गर्दै बायाँ कानमा मिश्रित प्रकारको श्रवण समस्या देखिएको जनाइएको छ। प्रतिवेदनमा उक्त समस्या चोटपटक वा कुटपिटपछि उत्पन्न भएको हुन सक्ने चिकित्सकीय अनुमानसमेत गरिएको छ।
प्रतिवेदनमा चक्कर आउने वा कान बज्ने जस्ता समस्या भने नरहेको उल्लेख गरिएको छ।
थप परीक्षण गर्न चिकित्सकको सिफारिस
विशेषज्ञ चिकित्सकले श्रवणशक्ति प्रभावित हुनुको कारण स्पष्ट रूपमा पत्ता लगाउन तथा आवश्यक उपचारका लागि थप परीक्षण गर्न सिफारिस गरेका छन्। सिफारिस गरिएका परीक्षणमा कानको पर्दा र मध्यकानको अवस्था जाँच गर्ने परीक्षण, कानको हड्डीको सिटी स्क्यान तथा श्रवण स्नायुको कार्यक्षमता परीक्षण रहेका छन्।
साथै, विस्तृत परीक्षण र उपचारका लागि उच्चस्तरीय स्वास्थ्य संस्थामा रिफर गरिएको प्रतिवेदनमा उल्लेख छ।
पीडित परिवारले कुटपिटका कारण आँखासँगै कानमा समेत गम्भीर असर परेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडितको उपचार र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
प्रतिक्रियाहरु